पाकिस्तानविरुद्ध गुटबन्दीमा बीसीसीआई, आईपीएल फाइनलकै बीच एसिया कपबारे कचहरी हुने – Nepal Press

पाकिस्तानविरुद्ध गुटबन्दीमा बीसीसीआई, आईपीएल फाइनलकै बीच एसिया कपबारे कचहरी हुने

क्यानले बीसीसीआईसँग गर्यो द्विपक्षीय छलफलको प्रस्ताव

काठमाडौं । एसिया कप क्रिकेटको १६ औँ संस्करण कहाँ आयोजना हुन्छ ? अझै उत्तर मिलेको छैन । प्रतियोगिता हुन्छ भन्नेमै आशंकाका बादलहरू कायम छन् ।

पूर्वनिर्धारित तालिकाअनुसार यसै वर्षको सेप्टेम्बरमा पाकिस्तानले एसिया कपको आयोजना गर्नुपर्ने हो । तर, भारतले पाकिस्तान भ्रमणका लागि आफ्नो टिमलाई अनुमति नदिने बताएपछि प्रतियोगिता अनिश्चयमा धकेलिएको छ । पाकिस्तानी क्रिकेट बोर्डले आयोजनास्थलबारे वैकल्पिक प्रस्तावहरू अघि सारेपनि भारतले त्यसमा चासो दिएको छैन ।

नेपाल पनि यसपालिको एसिया कपको एक सहभागी टिम हो । त्यसैले यो प्रतियोगिताका विषयमा नेपालीहरूले अत्यधिक चासो दिइरहेका छन् । २१ वर्षअघि एसिया कपमा छनोट भएर पनि भारत–पाकिस्तानकै तनावले गर्दा त्यस वर्ष प्रतियोगिता नै स्थगित भएको थियो । लामो समयपछि एसिया कपमा स्थान बनाएको नेपाल दोस्रो पटक मौका गुमाउन चाहँदैन । तर, भारतले खेलमा घुसाएको ‘राजनीति’ का कारण नेपाल फेरि अभागी ठहरिन सक्ने सम्भावनाको अन्त्य भएको छैन ।

एसिया कपमा खुलेरै ‘राजनीति’ गरिरहेको छ भारतीय क्रिकेट बोर्ड बीसीसीआई । अन्य एसियाली राष्ट्रहरूसँग मिलेर पाकिस्तानलाई एक्लाउने र एसियन क्रिकेट काउन्सिललाई पनि दबाबमा पारेर आफ्नो पक्षमा निर्णय लिन बाध्य पार्ने उसको स्पष्ट रणनीति हो । त्यसो त भारतीय क्रिकेट बोर्डका सचिव नै एसियन क्रिकेट काउन्सिलका अध्यक्ष छन् ।

यसैबीच भारतले अन्य राष्ट्रहरूलाई प्रभावमा लिन आफ्नो देशको महँगो क्रिकेट लिग आईपीएललाई पनि प्रयोग गर्ने भएको छ । २८ मे (आज)मा अहमदावादमा हुने आईपीएलको फाइनलमा एसिया कप खेल्ने पाकिस्तानबाहेक सबै राष्ट्रका क्रिकेट बोर्डलाई निम्तो दिएको छ । यही क्रममा एसिया कपको बारेमा साझा धारणा आउन सक्ने समाचार क्रिकइन्फो डट कमले प्रकाशित गरेको छ ।

समाचार अनुसार आज आईपीएलको फाइनल हेर्न श्रीलंका, बंगलादेश र अफगानिस्तानका बोर्डका प्रमुखहरू उपस्थित हुनेछन् । यही क्रममा भारतीय बोर्डसँग उनीहरूको एसिया कपबारे अनौपचारिक कुराकानी हुने समाचारमा जनाइएको छ ।

भारतीय क्रिकेट बोर्डका सचिव तथा एसीसी प्रमुख जय साहलाई उद्धृत गर्दै क्रिकइन्फो लेख्छ, ‘अहमदाबादमा हुने आईपीएल फाइनलमा आउने अन्य राष्ट्रका क्रिकेट बोर्ड प्रमुखसँगको छलफलपछि हामी एसिया कप आयोजनाबारे अन्तिम निष्कर्षमा पुग्नेछौँ ।’

हालै मात्र पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले एसीसीसाम नयाँ हाइब्रिड मोडलको प्रस्ताव अघि सारेको थियो । जम्मा १३ वटा खेलमध्ये ४ वटा मात्रै पाकिस्तानमा गर्ने र फाइनलसहित बाँकी सबै खेलहरू अर्को कुनै देशमा आयोजना गर्न सकिने पाकिस्तानको नयाँ प्रस्ताव हो । तर यसबारे एसीसी पीसीबीबीच औपचारिक छलफल भएको छैन ।

पाकिस्तानले वैकल्पिक आयोजनास्थल युएई र श्रीलंका हुनसक्ने जनाएको छ । पाकिस्तान एसीसी आफ्नो प्रस्तावमा सहमत हुनेमा विश्वस्त छ । तर भारत पाकिस्तानको प्रस्तावमा सहमत हुने सम्भावना न्यून छ । एसिया कपका लागि एसिसीको औपचारिक बैठक हालसम्म बोलाइएको छैन ।

नेपाललाई पनि आइपीएलको फाइनलमा आमन्त्रण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता दुर्गाराज पाठकले बीसीसीआईबाट निमन्त्रणा आए पनि आइपीएल फाइनलमा एसिया कपबारे छलफलको वातावरण नहुन सक्ने बताए ।

‘अघिल्ला वर्षहरुमा पनि निमन्त्रण आउँथ्यो, यसपाली पनि आएको छ,’ उनले भने, ‘तर, आईपीएलको माहोलमा एसिया कपबारे छलफल सम्भव होला जस्तो लाग्दैन । बरु हामीले आईपीएलपछि द्विपक्षीय छलफल गर्न बीसीसीआईसँग आग्रह गरेका छौं ।’

आईपीएलपछि नेपालबाट प्रतिनिधिमण्डल भारत गएर एसिया कपलगायत नेपाल र भारतबीच क्रिकेट सम्वन्ध विकासका विभिन्न आयामहरुबारे छलफल गर्ने तयारी रहेको उनले बताए । प्रधानमन्त्रीको भारत भ्रमणमा पनि यो विषयमा कुरा उठाउन आग्रह गरिएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *