भीम रावलको प्रश्न- फरार अपराधीहरुलाई संरक्षण गर्ने अनि हामीलाई कारबाही गर्ने ? – Nepal Press
नेपाल टक

भीम रावलको प्रश्न- फरार अपराधीहरुलाई संरक्षण गर्ने अनि हामीलाई कारबाही गर्ने ?

कैलाली । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल पार्टीमा बस्ने वा नबस्ने टुङ्गो लगाउन गठन गरिएको कार्यदल अहिले निष्क्रिय छ । कार्यदलले रावलसँग पार्टी कार्यालयमा छलफल पनि गरेको थियो । तर, त्यसपछि अर्काे छलफल भएको छैन ।

दसौं महाधिवेशनपछि पार्टीका गतिविधिमा नदेखिएका रावलका विषयमा उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा रहेको कार्यदल गठन गरिएको थियो । अध्यक्ष केपी शर्मा ओली नेता रावलबीच भेटवार्ता गराउने विषयमा छलफल भए पनि अहिलेसम्म भेट भएको छैन ।

वार्ता टोलीले कुनै निष्कर्ष निकाल्न नसक्दा रावलमाथि कारबाही हुन्छ कि उनी पार्टी गतिविधिमा फर्किन्छन् वा यस्तै निष्क्रिय रहन्छन् भन्ने विषयमा कुनै टुङ्गो लागेको छैन । यस विषयमा हामीले रावललाई भेटेर वार्ता टोलीसँग भएको छलफल र आगामी बाटोबारे कुरा गरेका छौं । एमाले नेता भीम रावलसँग गरिएको कुराकानीः

– तपाईं पार्टीमा बस्ने वा नबस्ने टुङ्गो लगाउन गठन गरिएको वार्ता टोलीले अहिले के गरिरहेको छ ?

पहिलो चरणको कुराकानी भएको छ सामान्य । मलाई खबर गर्छु भनिएको थियो । त्यसपछि कुनै खबर छैन ।

– एमाले अध्यक्ष केपी शर्मा ओली र तपाईंलाई भेटाउने गरी वार्ता टोलीले छलफल गरेको भन्ने सुनिन्छ । त्यसपछि भेट भयो त ?

अन्तिममा ‘ल अध्यक्षजीसँग पनि कुराकानी गर्ने र हामी पनि बस्ने’ भन्ने कुरा थियो । त्यसपछि सकारात्मक परिणाम आउने गरी छलफल अगाडि बढाउने भन्ने कुरा भएको हो । त्यसपछि मलाई कुनै जानकारी छैन ।

– त्यसपछि के भइरहेको छ भनेर तपाईंले चासो दिनुभएको छ कि छैन ?

पार्टीले वार्ता कमिटी बनाएको र उहाँहरूले नै फोन गर्छु भनेपछि त मैले चासो राख्ने र नराख्ने भन्ने त कुनै सन्दर्भ नै रहेन ।

कमिटी उहाँहरूले गठन गर्नुभएको हो । त्यसपछि पहिलो चरणको कुरा पनि भएको हो । फेरि खबर गर्छु पनि भन्नुभएको थियो । त्यसपछि केही खबर आएको छैन ।

– वार्ता टोली कर्मकाण्डीमात्रै हुन्छ कि केही परिणाम ल्याउँछ जस्तो लाग्छ ?

मैले कमिटी गठन गरेको भए यस्तो हो भनेर भन्थे । कमिटी उहाँहरूले गठन गर्नुभएको हो । त्यसपछि पहिलो चरणको कुरा पनि भएको हो । फेरि खबर गर्छु पनि भन्नुभएको थियो । त्यसपछि केही खबर आएको छैन । किन वार्ता टोली गठन गरियो ? फेरि किन विलम्ब भइरहेको छ ? यसको उपयुक्त जवाफ त उहाँहरूले नै दिनुहोला नि !

– वार्ता टोलीले विलम्ब गर्ने, तपाईंले पनि उहाँहरूले फेरि बोलाउनुहुन्छ भनेर बसिरहे र उहाँहरूले फेरि सम्पर्क गर्नुभएन भने के हुन्छ ?

वार्ता केन्द्रीय पार्टी कार्यालयमा भएको हो । उहाँहरूले अध्यक्ष जीसँग कुरा गर्ने प्रस्ताव ल्याउनुभएको हो । मैले पनि तयार नै छु भनेको हो । तर, जो व्यक्तिको हातमा अख्तियारी छ । उहाँहरूले त्यसमा केही चासो चिन्ता र पहल गर्नुभएन भने मैले भन्नुपर्ने र गर्नुपर्ने केही कुरा छैन ।

तर, म राष्ट्र र राष्ट्रियताको सवालमा दृढै छु । त्यसमा ठोस रुपमा तपाईंले केही पाइला चाल्ने सवालमा केही सोध्न खोज्नुभएको हो भने वार्ता भनेको छ । हेर्दै जाऔं, अहिलेसम्म धेरै ढिलो भएको छैन । यसमा हतारिनुपर्ने म देख्दिनँ ।

– तपाईंलाई कारबाही गर्न वार्ता टोली गठन गरिएको हो पनि भनिन्छ नि ?

त्यो त मलाई थाहा छैन । जहाँसम्म अछामको घटनाको प्रसङ्ग छ । मलाई त्यहाँका साथीहरूले दिएको जानकारीअनुसार विवादास्पद कुनै विषयमा प्रवेश नगर्ने उहाँहरूको सहमति भएको रहेछ । मैले त्यही प्रसङ्गमा भनेको हो । विवादास्पद कुरा नल्याउने सहमति भइसकेपछि कसैले त्यसको उल्लंघन गरेपछि त्यसमा आपत्ति जनाउने कुरा स्वाभाविक हो ।

उहाँहरूले अध्यक्ष जीसँग कुरा गर्ने प्रस्ताव ल्याउनुभएको हो । मैले पनि तयार नै छु भनेको हो । तर, जो व्यक्तिको हातमा अख्तियारी छ । उहाँहरूले त्यसमा केही चासो चिन्ता र पहल गर्नुभएन भने मैले भन्नुपर्ने र गर्नुपर्ने केही कुरा छैन ।

अर्काे कुरा, मलाई कारबाही गर्न यस्तो गरिएको हो भने त्यो कुरा त उहाँहरूलाई थाहा होला । देश र जनताको पक्षमा बोल्ने, यत्रो ५०औं वर्ष पार्टीमा समर्पित भएर लाग्ने, पार्टी निर्माण गर्ने हामी जस्तालाई कारबाही गर्ने भन्ने अनि भुटानी शरणार्थी प्रकरणदेखि अनेक प्रकरण र सांसद भएर फरार अपराधीहरुलाई संरक्षण गर्ने हो भने, के गर्न खोजिएको हो ? त्यो त यहाँहरू जस्ताले र जनताले बुझ्ने कुरा हो ।

– पार्टी अध्यक्ष केपी ओलीले कसैलाई काखा र कसैलाई पाखा गर्नुभयो भन्न खोज्नुभएको हो ?

कसैलाई काखा, कसैलाई पाखा भन्नाले कसैको काखैमा बस्नुपर्छ भन्ने मेरो मान्यता होइन । नेकपा एमालेको नीति सिद्धान्त छ । यसको विचार छ, कार्यक्रम छ । यसले विगतमा अपनाएको विधि छ, पद्धति छ र शैली छ । त्यसलाई ठाडै मिचेर जाने भन्ने कुरा पनि हुन्छ त ?

जस्तो उपेन्द्र यादवजीसँग निर्वाचनमा एक ठाउँमा उभिनुभयो । तर, राष्ट्रपतिको चुनावमा त कसैले मत दिएन । यो त एउटा सामान्य उदाहरण हो । यस्ता त दर्जनौं होलान् । अनि यस्ता कुराहरूको समीक्षा गरेर कसरी पार्टीलाई बलियो बनाउने भन्ने विषयमा नसोचेर देशको लागि बोल्ने, आवाज उठाउने, भ्रष्टाचारको विषयमा बोल्ने, आवाज उठाउने, संगठनलाई विधिबाट चलाऊ, सिद्धान्तमा हिँडौं, देशमा बाह्य हस्तक्षेप छ, त्यसको प्रतिवाद गरौं, आर्थिक स्थिति कमजोर छ, त्यसका बारेमा सोचौं भन्नेहरूलाई खोजी खोजी कारबाही कसैले गरौं भन्छ भने त्यो त हाँस्यास्पद कुरा भएन र ?

– एमाले अध्यक्ष ओलीले तपाईंले आत्मालोचना नगरेसम्म भेट्न नचाहेको भन्ने पनि सुनिन्छ । वार्ता निष्कर्षमा पु¥याउन तपाईंले आत्मालोचना गरेर ओलीलाई भेट्न जाने सम्भावना कति छ ?

आत्मालोचना किन हो ? के हो ? मैले कुन व्यक्तिलाई हत्या गरेर फरार भएको छु र ? या मैले देशको सीमा मिचिएको कुरा ठीक हो भनेको छु ? कि भ्रष्टाचारीलाई प्रश्रय दिनुपर्छ भनेको छु ? के हो आत्मालोचना ? यदि कसैले भनेको छ भने म त्यो बुझ्दिनँ, के हो कुरो ?

भुटानी शरणार्थी प्रकरणदेखि अनेक प्रकरण र सांसद भएर फरार अपराधीहरुलाई संरक्षण गर्ने हो भने के गर्न खोजिएको हो, त्यो त यहाँहरू जस्ताले र जनताले बुझ्ने कुरा हो ।

– अछाममा नेकपा एकीकृत समाजवादीलाई जिताउन लागिपरेको भन्ने आरोप छ । कारबाहीका लागि तपाईं तयार हो ?

त्यो हास्यास्पद कुरा हो । निर्वाचनमा मैले अरूलाई सहयोग गरेको भन्ने कुरा हास्यास्पद हो । त्यस्तो भन्ने व्यक्तिहरूले एउटामात्रै प्रमाण ल्याइदिए राम्रो हुन्थ्यो होला । बरु नेकपा एमालेले २४ ठाउँमा कम्युनिष्टका खुँखार विरोधीहरू कतिपय भ्रष्टाचार र अनेक अपराधमा लागेका व्यक्तिहरूले टिकट पाएर अहिले ती नै व्यक्तिहरू एमालेविरुद्धमा छन् । त्यस्ता घटनाहरू त मैले देखेको छु । म त पार्टीको नीति, सिद्धान्त, विचारभन्दा एक रति पनि विचलित देखाएको छैन ।

– कार्यदल निष्क्रिय हुनु भनेको तपाईं पनि एमालेमा निष्क्रिय नै रहनु हो भनेर बुझ्दा हुन्छ त ?

कार्यदललाई सक्रिय बनाउने मेरो हातको कुरा होइन । त्यो त अख्तियार प्राप्त व्यक्तिहरूले सोच्ने कुरा हो । ल कुरा गरौं भनेपछि मैले इमानदारीका साथ गरौं न त भनेको हो । त्यसपछि थप केही कुरा भएको छैन र मलाई जानकारी पनि छैन । अहिलेसम्म कुरा केमा अड्किएको छ भन्ने पनि मलाई जानकारी छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर