काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी – Nepal Press

काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ ।

प्राधिकरणले यहाँको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको छ ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

उनका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेका छन् ।

भूमिगत लाइनबाटै घर–घरमा बिजुली पुर्‍याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः यो काम गर्दै जाने योजना बनाइएको जनाइएको छ ।

प्राधिकरणले सडकबाट उपभोक्ताका घर र कार्यालयसम्म भूमिगतरूपमा तार लगी मिटरमा भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महिना पोल भने नहटाउने योजना रहेको प्रवक्ता भट्टराईले बताए ।

आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइन चार्ज गर्ने प्राधिकरणको योजना रहेको जनाइएको छ ।

हिउँदमा काठमाडौंमा विद्युत् लोड बढेर वितरण लाइनमा समस्या देखिने गरेको छ । यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका करिब एक लाख घरमा स्मार्ट मिटर जोडेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

काठमाडौंको वितरण लाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यकाभर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ ।

काठमाडौंमा भूमिगत वितरण लाइन बिछ्याइरहेको प्राधिकरणले केही महिनापछि ओभरहेड वितरण लाइन हटाउने जनाएको छ ।

यसपछि इन्टरनेटका तारसमेत पोलमा राख्न नपाइने भएकाले प्राधिरकणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ ।


प्रतिक्रिया

One thought on “काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी

  1. यतिबेला तमाम जनताहरू सचेत र सजग बन्नै पर्छ, कुनै कमि कमज‍ोरका कारण मानवीय क्षति बन्ने समाचार सुन्न नपरोस्, भूमिगत तार र ज्वाईन बक्सहरू भरपर्दा देखिएका छैनन्, थप प्राबिधिकहरूबाट अनुगमन र निरीक्षण हुन सकोस्, जयहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर