स्वार्थका लागि एकै ठाउँमा उभिएका प्रचण्ड-बाबुरामको मिलन फेरि टरेकै हो ? – Nepal Press

स्वार्थका लागि एकै ठाउँमा उभिएका प्रचण्ड-बाबुरामको मिलन फेरि टरेकै हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीचको एकताको सम्भावना लगभग टरेको छ । सत्ता स्वार्थका लागि जनयुद्धका सहयात्रीहरु एक हुने प्रयास गरे पनि अहिले फेरि दूरी बढेको हो ।

गत मंसिर ४ को निर्वाचनताका प्रचण्ड र बाबुराम एकै ठाउँमा आइपुगेका थिए । २०७२ असोज ९ मा तत्कालीन एकीकृत नेकपा माओवादी छाडेर हिँडेका बाबुराम गत निर्वाचनमा पार्टी एकताकै सर्तमा प्रचण्डकै साथमा उभिन पुगेका थिए ।

२०५२ सालमा सुरु भएको जनयुद्धका प्रमुख नेताहरु प्रचण्ड र बाबुरामको राजनीतिक सहयात्रामा सत्तास्वादसँगै विराम लागेको थियो ।

माओवादीबाट छुट्टिई नयाँ शक्ति हुँदै तराईको क्षेत्रीयतावादी राजनीतिबाट आएको संघीय समाजवादी, जनता समाजवादी पार्टीसम्म डा.भट्टराईले जुन यात्रा तय गरे त्यो सफल भएन । अहिले आफ्नै नेतृत्वमा नेसपा अगाडि बढाउने प्रयासमा छन् ।

आफ्नो प्रयोग कतै सफल नभएपछि बाबुराम फेरि प्रचण्डसँगै सहयात्राको प्रयासस्वरुप मंसिरको चुनावमा एकसाथ देखिएका थिए । चितवनबाट चुनाव लड्दै आएका प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसकै बागीको त्रासले गोरखा २ सम्म बाबुरामले नै पुर्‍याएका थिए ।

अलग बाटोमा लागिसकेपछि प्रचण्डविरुद्ध आगो ओकलिरहेका बाबुरामले आफ्नै निर्वाचन क्षेत्रमा लगेर चुनाव जिताउन खुलेरै सहयोग गरे । प्रचण्डको उम्मेदवारी दर्तादेखि चुनावी सभामा पनि एकसाथ देखिए ।

चितवनबाट गोरखमा डेरा जमाउन पुगेका प्रचण्डलाई सहयोग गर्नुमा उनको स्वार्थ जोडिएको थियो । त्यही स्वार्थ अहिले पूरा नभएपछि माओवादी केन्द्रसँग एकताको सहमति नै तोडिने अवस्थामा पुगेको छ ।

माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा पनि नेसपासँग तत्काल एकता हुने सम्भावना कम रहेको बताउँछन् ।

उनी भन्छन्, ‘एकताको सम्भावना नै टरेको छैन, होइन । हामी छलफलमै छौं । समयसँगै परिस्थिति अलिकति फेरिएकोमात्रै हो ।’

बाबुरामले माओवादी केन्द्रसँग एकता गर्दा कम्युनिष्ट सिद्धान्त त्याग्नुपर्ने सुरुदेखि नै अडान राखेका थिए ।

माओवादीका पदाधिकारी तहका एक नेता भन्छन्, ‘बाबुरामजीले सुरुदेखि नै पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्ने अडान राख्नुभएको थियो । तर, उहाँहरुसँग एकताको लागि मात्रै नाम फेर्ने कुरामा पार्टीका अधिकांश नेताहरु सहमत हुनुहुन्न । त्यसैले एकताको सम्भावना कमजोर हुँदै गएको हो ।’

त्यसो त प्रचण्डले पार्टीको नाम फेर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि नराखेका होइनन् । तर, त्यो पार्टीभित्र बहस अघि बढ्न सकेन ।

नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले माओवादीसँग पार्टी एकताको विषयमा कुनै छलफल अघि नबढेको स्वीकार गरे ।

उनले भने, ‘अहिले कुनै प्रक्रिया अघि बढेको छैन । हामी अहिले समाजवादी मोर्चा निर्माणको विषयमा केन्द्रित भएका छौं ।’

समाजवादी मोर्चाको गृहकार्य अघि बढेपछि माओवादीसँग पार्टी एकताको च्याप्टर क्लोज भएको हो भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘अहिले कुनै पार्टीसँग एकताको कुरा अघि बढेको छैन । अब २५ र २६ गते बस्ने केन्द्रीय समितिको बैठकले थप निर्णय गर्छ ।’

बाबुरामको प्रयास विफल

चितवनबाट गोरखा उक्लेर प्रचण्ड सफल भए पनि बाबुरामले अख्तियार गरेको रणनीति विफल भयो । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दा बाबुरामले राष्ट्रपति बन्ने आकांक्षा राखेका थिए । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बने ।

प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको चर्चा भजाइरहँदा बाबुरामले आफ्नो लबिङ बढाएका थिए । तर, प्रचण्डले चासो नदिएको उनी निकट नेताहरुको बुझाइ छ ।

यता बाबुरामले आफ्नो उत्तराधिकारीको रुपमा छोरी मानुषी यमीलाई गठबन्धनको तर्फबाट काठमाडौं ७ को टिकट दिलाएका थिए ।

माओवादीको चुनाव चिन्हबाट लडेकी यमी हारिन् भने नेसपाका अर्का अध्यक्ष महेन्द्रराय यादव सर्लाही २ बाट जिते । अहिले प्रचण्ड क्याविनेटमा उनै यादव मन्त्री बने पनि बाबुरामले प्रत्यक्ष रुपमा कुनै फाइदा पाएनन् ।

समाजवादी मोर्चाको चर्चा मात्रै

त्यसो त अहिले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाको समाजवादी मोर्चा बनाउने गृहकार्य भइरहेको छ । त्यसमा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास जारी छ । नाम नेकपा समाजवादी केन्द्र राख्ने उनीहरुको तयारी छ ।

सत्ता गठबन्धनमै सामेल रहेको नेसपा पनि समाजवादी मोर्चामा सहमत छ । प्रचण्ड-माधव कम्युनिष्ट पार्टी तत्कालै छाड्ने मनस्थितिमा छैनन् । तर, बाबुराम कम्युनिष्ट पार्टी त्यागिसकेकाले फर्कने पक्षमा छैनन् । त्यसमा पनि जसपा पनि मिसिएपछि बाबुरामलाई असहज भएको नेताहरुको बुझाइ छ ।

माओवादी केन्द्रका सचिव शर्मा समाजवादी केन्द्र निर्माणमा छलफल भइरहेको बताउँछन् । उनी भन्छन्, ‘पहिला छलफल भइरहेको थियो । तर, यो गठबन्धन सरकार नीति तथा कार्यक्रमलगायतको विषयको कारणले ढिलाइ भयो । अहिले पनि हामी समाजवादी मोर्चा निर्माणको तयारीमा छौं । त्यसले गर्दा पनि केही ओझेलमा परेको हो ।’

त्यसो त माओवादीका अर्का नेता लीलामणि पोखरेल नेसपासँग पार्टी एकताको त सैद्धान्तिक सहमति पहिला नै भइसकेको भए पनि अहिले त्यसबारे ठोस प्रगति नभएको बताउँछन् ।

उनी भन्छन्, ‘ध्रुवीकरणको पक्षमा आउने भनेर त बाबुरामजीले नै सहमति जनाइसक्नुभएको हो । कम्युनिष्ट पार्टीमा फर्किने नफर्किने उहाँहरुको कुरा हो । तर, उहाँले बनाउनुभएको पार्टीले कम्युनिष्ट पार्टी नै चाहिन्छ भन्ने आवश्यकता महसुस गरेको छ ।’

प्रचण्ड र माधवले हरेकजसो पार्टीको कार्यक्रममा समाजवादी मोर्चा गठन अन्तिम चरणमा पुगिसकेको दाबी गर्दै आएका छन् ।

त्यसो त प्रधानमन्त्री प्रचण्ड, माधव नेपालसहित शीर्ष नेताहरुले चाँडै समाजवादी मोर्चा बन्ने घोषणा गरे पनि अहिलेसम्म ठोस प्रगति देखिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर