युवा संघसँग गृहमन्त्रीले भने- बयानकै आधारमा कसैलाई समाउन मिल्दैन, प्रहरीले तथ्य खोज्दैछ (भिडिओ) – Nepal Press

युवा संघसँग गृहमन्त्रीले भने- बयानकै आधारमा कसैलाई समाउन मिल्दैन, प्रहरीले तथ्य खोज्दैछ (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो नतोड्दासम्म समृद्धिको यात्रा तय गर्न नसक्ने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि ध्यानाकर्षण गराउन नेकपा एमालेनिकट युवा संघको टोली मन्त्रालय पुगेको थियो । अपुरो र अधुरो अनुसन्धान गरिएको साथै निर्दोष फसाउन खोजिएको भन्दै युवा संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

श्रेष्ठले राजनीतिक परिवर्तनपछि पनि भ्रष्टाचारकै कारणले समृद्धिको दिशामा फड्को मार्न नसकेको बताए ।

उनले भने, ‘अहिले हाम्रो मिसन समृद्धिको पूर्वशर्त हो । भ्रष्टाचारको अन्त्य नगरी समृद्धिको लक्ष्य पूरा हुन सक्दैन । समृद्धि पनि आम जनताले भोग गर्ने खालको स्थापित हुनै सक्दैन भन्ने मान्यताको साथ काम गरिरहेका छौं ।’

उनले नक्कली शरणार्थी प्रकणमा प्रहरीले बयानमात्रै नभई तथ्य प्रमाणको आधारमा अगाडि बढाइरहेको बताए ।

गृहमन्त्री श्रेष्ठले भने, ‘एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा प्रहरी छ । कसैले भन्दिएको भरमा प्रहरीलाई बुझाउने पनि मिल्दैन होला । कोही मुछ्‌न जियो या कोही आउनुपर्ने पनि आएनन् भन्ने पनि छ । निष्पक्ष ढंगले प्रहरीले अगाडि बढाइरहेको छ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष रूपमा काम गर्न आफूलाई सहयोग गर्ने बचन दिइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर