जब निर्माताले प्रियंकाको भित्री वस्त्र हेर्न चाहे – Nepal Press

जब निर्माताले प्रियंकाको भित्री वस्त्र हेर्न चाहे

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले हालै एक अन्तर्वार्तामा बलिउडमा आफूसँग भएको एक घटना खुलासा गरेकी छन् । उनले विगतमा चलचित्र छायांकनको दौरान आफूलाई एक निर्माताले गरेको व्यवहारबारे उक्त अन्तर्वार्तामा उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘यो वर्ष २००२ वा २००३ को कुरा हो । एक चलचित्रको सुट चलिरहेको थियो । कथाअनुसार एउटा रोलमा मैले एक पुरुषलाई सेड्युस गर्नुपर्ने थियो । जहाँ मैले आफूले लगाएको एउटा कपडा खोल्नुपर्ने थियो । म उक्त पुरुषलाई सेड्युस गर्ने प्रयास गरिरहेको थिएँ । म त्यो कपडा खोल्दा पनि आफूलाई अप्ठ्यारो नपर्ने गरी आफ्नो चरित्र निभाउन चाहन्थे । तर, फिल्म मेकरलाई भने त्यो मञ्जुर थिएन । उनीहरुलाई मेरो अन्डरवेयर हेर्नु थियो । भन्दै हुनुहुन्थ्यो, ‘मलाई यस चलचित्रमा उनको अन्डरवेयर हेर्नुछ। नत्रभने यो फिल्म हेर्न दर्शक किन हलसम्म आउने ?’

प्रियंकाले उक्त कुरा आफूलाई सीधै नभनिएको सुनाइन् । ‘उहाँले यो कुरा मलाई डाइरेक्ट भन्नुभएन । उहाँले मेरो अगाडि भएको स्टाइलिस्टलाई मैले सुन्ने गरी भन्नुभयो । त्यो मेरो लागि एकदमै अमानवीय क्षण थियो । एउटा चलचित्र चलाउन मलाई कसरी प्रयोग गर्ने भन्नेमात्र सोचिँदोरहेछ भन्ने महसुस भएको थियो । चलचित्रमा मैले गर्ने योगदान र मेरो कलाको कुनै महत्त्वपूर्ण रहेनछ भन्ने अनुभूति भइरहेको थियो‘, उनले थपिन् ।

दुई दिन काम गरेपछि आफूले उक्त चलचित्र छाडेको प्रियंकाले बताएकी छन् । उनले जोडिन्, ‘दुई दिनपछि मैले चलचित्र छाडें । यो घटना थाहा पाएपछि मेरो बुवाले मलाई चलचित्र छायांकनमा मेरो लागि लागेको खर्च पनि आफ्नै पैसाबाट फिर्ता गर्न भन्नुभयो । उक्त व्यक्तिलाई म अहिले पनि सम्झिन चाहन्न ।’

अहिले प्रियंका बलिउडमात्र नभएर हलिउडमा पनि छाएकी अभिनेत्री हुन् । निक जोनससँग विवाह गरेपछि उनी अहिले अमेरिका बस्छिन् । हाल उनी ‘द रुसो ब्रदर्स’ले निर्माण गरेको चलचित्र ‘सिटाडेल’मा व्यस्त छिन् । एक्सन जनरामा बनेको चलचित्रमा उनलाई हलिउड अभिनेता रिचर्ड म्याडेनले साथ दिएका छन ।

प्रियंकाले चलचित्रमा एक स्पाईको भूमिका निवार्ह गरेकी छन् । उनको पछिल्लो चलचित्र अमेरिकी पटकथा लेखक तथा फिल्म निर्देशक जेम्स सी स्ट्राउजको ‘लभ अगेन विथ स्याम ह्युगन’ हो । उनी अब फरहान अख्तरको चलचित्र ‘जीले जरा’मा आलिया भट र कट्रिना कैफसँगै देखिने भएकी छन् । उनको जोन सीना र इड्रिस एल्बासँगको अर्को चलचित्र ‘हेड अफ स्टेट्स’ पाइपलाइनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *