रास्वपामाथि संसदमा उठ्यो प्रश्न, रेकर्डबाट हटाउन रविको माग (भिडिओ) – Nepal Press

रास्वपामाथि संसदमा उठ्यो प्रश्न, रेकर्डबाट हटाउन रविको माग (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले संसद बैठकमा समानुपातिक सांसद बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले पैसा लिएको र सभापति रवि लामिछानेले नागरिकताको निस्सा नबुझाएको विषय उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै चौरसियाले लोकतन्त्रका लागि आजीवन लडेका नेता र पार्टीहरुलाई होच्याउने गरी व्यंग्य गरेको भन्दै आपत्ति जनाए ।

उनले रविलाई लक्षित गर्दै भने, ‘कुनै पनि सांसद र पूर्वसांसदले कुनै पार्टीका नेतालाई समानुपातिक सांसद बन्न पैसा दिएको भन्ने आरोप लागेको छ । जसरी नागरिकता बदर भएर बाहिरको नागरिकता त्यागेको निस्सा नबुझाइकन पुनः नागरिकता लिने काम गरियो ।’

सांसद चौरसियाले यति भनेपछि रास्वपाका सभापति रवि लामिछाने आपत्ति जनाए ।

उनले भने, ‘अदालतमा भएको विषयलाई रोष्ट्रममा बसेर उठाएर माननीयज्यूले के कुरा उठाउन खोज्नुभएको हो । यो अदालतको अपमान हो कि ? उहाँँले सुनेको भरमा गर्न खोज्नुभएको हो कि ? मैले मेरो निस्सा तपाईंलाई बुझाउनुपर्ने हो ? । तपाईंको जानकारीको लागि अदालतले नमागे पनि मैले अस्तिको दिनमा गएर दर्ता गराएको छु ।’

उनले सरकार, अदालत र आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरु उपलब्ध गराइसकेको जानकारी गराए ।

लामिछानेले थपे, ‘अदालतको विषय संसदमा उठाउन पाइँदैन । म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हल्ला र सुनेका भरमा आरोप लगाएर संसदको रोष्ट्रममा बसेर यस्तो कुरा गर्ने हो भने यो संसदको गरिमा कहाँ पुग्छ ? यो कुरा संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग गर्न चाहन्छु । हल्लाको कुरा नगर्नुस् । प्रमाणको आधारमा आउनुस् । तपाईंहरु जस्तो मान्छे लुकाएर बचाएर राख्दैनौं । प्रमाणित गर्नुहोला, यो संसदको पाँच किलोमिटर वरपर हामी देखिँदैनौं । आफ्नो अनुहार लुकाएर हिँड्छौं । तर, हल्लाको भरमा संसदमा बोल्न पाइँदैन ।’

रास्वपाले समानुपातिक सांसद बनाउन डा. ढाकाकुमार श्रेष्ठसँग ३ करोड लिएको समाचारहरु आएका छन् । सांसद चौरसियाले त्यही समाचारलाई आधार मानेर बोलेका थिए । त्यस्तै अमेरिकी नागरिकता नत्यागी नेपाली नागरिकता लिएको भन्दै आज सर्वोच्च अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर