संसदमा रविको आक्रोश- राज्यकै निकायको विश्वास भएन, गृहमन्त्री र प्रधानमन्त्रीको मुटु कहाँ चेक गर्ने ? (भिडिओ) – Nepal Press

संसदमा रविको आक्रोश- राज्यकै निकायको विश्वास भएन, गृहमन्त्री र प्रधानमन्त्रीको मुटु कहाँ चेक गर्ने ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले भइरहेको छानबिनप्रति आशंका जनाएका छन् ।

संसद बैठक सुरू भएलगत्तै रास्वपाका सबै सांसदहरु कुर्सीबाट उठेका थिए । त्यसपछि सभामुखले प्रमुख सचेतकलाई पार्टीको भनाइ राख्न दुई मिनेट समय दिए । प्रमुख सचेतक सन्तोष परियाले पार्टीका तर्फबाट संसदीय दलका नेता रवि लामिछानेले बोल्ने बताए । त्यसपछि रविले आफ्नो भनाइ आक्रामकरुपमा राखेका थिए ।

आफ्नो पार्टीले सुरूदेखि तीन दलका शीर्ष नेताहरू ‘खुसुरखुसुर’ भेट्दै आएकोमा आपत्ति जनाएको लामिछानेले उल्लेख गरे । उनले शरणार्थी प्रकरणमा राज्यकै निकायहरु र अनुसन्धान प्रमुखहरुको नामसमेत आइरहेकाले कसैको विश्वास गर्ने वातावरण नभएको बताए ।

‘अनुसन्धानका प्रमुखहरूकै नाम आइरहेको छ । दिनको उज्यालोमा बालुवाटार, मन्त्रीक्वाटर, सिंहदरबारमा लेनदेन भएको विषय आएका छन् । यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ?’ उनले प्रश्न गरे ।
रविले यो छानविनबाट चाहेकोजस्तो नतिजा आउन नसक्ने भन्दै संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने माग राखे ।

‘जुन छानबिन गर्ने निकाय छन्, कसैको पनि विश्वास गर्ने वातावरण भएन । जसजसको नाम आएको छ, उनीहरुलाई छानविनको दायरामा ल्याउन नदिने, सोधपुछसम्म नगर्ने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो, प्रधानन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने ? जोडिएका मान्छेहरूसँग सोधपुछ हुनुपर्‍यो । खुट्टा कमाउनुभएन । कारबाहीको दायरा ल्याउनुपर्छ । सोधपुछका लागि बोलाउनसमेत नहुने, को हो उहाँहरू ?’

राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति गठन गरेर छानबिन गर्नसमेत माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर