राजसंस्था फर्काउने गम्भीर पहलमा पूर्वराजा- ‘शक्ति प्रदर्शन’ देखि कूटनीतिक लबिङसम्म – Nepal Press

राजसंस्था फर्काउने गम्भीर पहलमा पूर्वराजा- ‘शक्ति प्रदर्शन’ देखि कूटनीतिक लबिङसम्म

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह केही समयदेखि ‘नागरिक अभिनन्दन’ ग्रहण गर्न व्यस्त छन् । कतै एकल त कतै पारिवारिक रूपमा नै उपस्थित गराएर उनलाई अभिनन्दन गर्ने सिलसिला चलिरहेको छ ।

पृष्ठभूमिमा कुनै ठूलो राजनीतिक शक्ति नभए पनि पूर्वराजाका अभिनन्दन समारोहमा बाक्लो उपस्थिति देखिन्छ । राजनीतिक दलहरूले पैसा खर्च गरेर पनि आफ्नो आमसभाहरुमा जम्मा गर्न नसकेको भिड पूर्वराजाको अभिनन्दनमा स्वतःस्फूर्त नै जम्मा भइरहेको छ । यसले राजावादीहरू हौसिएका छन् । चाँडै वृहत् जनआन्दोलनमार्फत राजसंस्था फर्काउने फुर्ती हाँक्न थालेका छन् ।

गत १ फागुनमा व्यवसायी दुर्गा प्रसाईँले आयोजना गरेको ‘नागरिक बचाउ महाअभियान’ को उद्घाटन समारोहमा सहभागी भएर पूर्वराजाले जनताको नाडी छाम्ने प्रयास गरेका थिए । उक्त कार्यक्रममा अपेक्षित भिड जुटेपछि उनी उत्साहित बने । त्यसपछि लगातार देशका विभिन्न स्थानमा ‘नागरिक अभिनन्दन’ का नाममा आयोजना गरिएका सभाहरूमा पूर्वराजा सहभागी भइरहेका छन् । त्यो पनि एक्लै होइन, परिवारसहित ।

गत २० चैतमा कोशी प्रदेशको इनरुवामा उनको नागरिक अभिनन्दन गरियो, जहाँ हजारौँ मानिसहरू सहभागी थिए । त्यसपछि १७ वैशाखमा जुम्लामा र २० वैशाखमा नेपालगञ्जमा तथा हिजो मात्रै सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि भव्य समारोहमा उनी अभिनन्दित भए । त्यहाँ ‘राजा आऊ देश बचाऊको नारा’ लाग्यो ।

यी अभिनन्दन समारोहमार्फत पूर्वराजाले ‘एक तीर दुई शिकार’ गरिरहेका छन् । पहिलो त जनतामा आफूप्रतिको समर्थन र क्रेज बढ्दो छ भन्ने देखाएर वर्तमान सत्ताधारीहरूलाई तर्साउन उनी सफल छन् । एक प्रकारले राजावादीहरूको शक्ति प्रदर्शन भइरहेको छ । दोस्रो, उनी राजसंस्था पुनर्स्थापनाका लागि जनतालाई झक्झकाइरहेका छन् । अभिनन्दन कार्यक्रमका प्रत्येक सम्बोधनहरुमा पूर्वराजा वर्तमान प्रणालीप्रतिको असन्तुष्टि र राजसंस्थाको अपरिहार्यतालाई परोक्षरुपमा अभिव्यक्त गर्ने गर्छन् ।

निकटस्थ स्रोतहरूका अनुसार पूर्वराजा यतिबेला ‘अभि नहीँ तो कभि नहीँ’ मुडमा छन् । उमेरका हिसाबले पनि वृद्धावस्थामा (७५ वर्ष) प्रवेश गरेकाले अब ढिला गर्न नहुने उनको बुझाइ छ । त्यसैले सबै अस्त्रहरू प्रयोग गर्न खोजेका छन् उनले ।

गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देशमा उनले आफू दलहरूसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश प्रवाह गरेका थिए । तर, दलहरूले उनको सन्देशलाई उपेक्षा गरे । त्यसयता लगातार आफ्ना सन्देशहरूमा शाहले शक्तिमा फर्किन चाह र महत्त्वाकाङ्क्षा प्रकट गरिरहेका छन् । लामो समय झापाको दमकमा रहेको आफ्नो निवासमा बसेर उनले राजसंस्थाप्रति झुकाव राख्ने सयौँ व्यक्तिहरूसँग भेटघाट गरे । राप्रपाका शीर्ष नेताहरूलाई सामूहिकरुपमा नै भेटे । सीधै नभने पनि राप्रपाले आन्दोलनको संयोजन गरिदिनुपर्छ भन्ने उनको भाव थियो ।

पूर्वराजाको संकेत अनुसार राप्रपा चाँडै राजसंस्था पुनर्स्थापना तथा धर्मनिरपेक्षता र संघीयता खारेजीको एजेन्डासहित वृहत् आन्दोलनमा जाने तयारी गरिरहेको छ । यसका लागि पार्टीले आन्तरिक गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ । तर, पूर्वराजा राप्रपामा मात्रै भर परिरहेका छैनन् । देशभित्रको माहोल आफ्नो पक्षमा पार्नेसँगै बाह्य शक्तिको समर्थन जित्ने प्रयासमा पनि छन् उनी ।

पूर्वराजाले यसबीचमा दुईपटक भारतको भ्रमण गरिसके । दुवै भ्रमण राजनीतिक प्रयोजनका लागि भएको बुझिन्छ । तर, दुवै भ्रमणका डिटेल्सहरु गोप्य राखिएको छ । गत महिना मात्रै उनी उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको निम्तो मान्न सपरिवार पुगेका थिए । पूर्वयुवराज पारसबाहेक तत्कालीन राजपरिवारका सबै सदस्यहरू भ्रमणमा सहभागी थिए । पूर्वमुमाबडामहारानी रत्नसमेत । लखनउमा भव्य कार्यक्रम आयोजना गरेर आदित्यनाथले पूर्वराजालाई सत्कार गरे ।

आदित्यनाथसँगको भेटवार्ताबाटट पूर्वराजा निकै उत्साहित बनेको उनीनिकट स्रोत बताउँछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र र भावी प्रधानमन्त्रीका रूपमा समेत हेर्ने गरिएका आदित्यनाथ हिन्दू कट्टरपन्थी नेता हुन् । पूर्वराजपरिवारसँग उनको पहिल्यैबाट प्रगाढ सम्बन्ध छ । आदित्यनाले पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गरेर निम्त्याएका थिए । लखनउमा पनि ‘राजा’ कै हैसियतमा सम्मान दिएको राजसंस्था निकटहस्थहरुको दाबी छ ।

त्यसो त पूर्वराजासँग अर्को मित्रराष्ट्र चीनको पनि न्यानो सम्बन्ध रहेको उनी निकटस्थ नेताहरू दाबी गर्छन् । राजसंस्था पुनर्स्थापनाको एजेन्डामा उनल चीनको पनि समर्थन प्राप्त गर्न सक्ने दाबी गरिएको छ । यद्यपि, यो दाबी पत्यारिलो भने छैन ।

जे भए पनि नारायणहिटीबाट बाहिरिएको डेढ दशकपछि फेरि सिंहासनमा बस्ने महत्त्वाकाङ्क्षा पूर्वराजामा सवार भएको चाहिँ यथार्थ हो । ‘गणतन्त्र’ ले कुनै डेलिभिरी दिन र देश झन् लथालिंग बन्दा दिक्क भएका जनताको एउटा हिस्सामा पूर्व राजसंस्थाप्रति आकर्षण र सहानुभूति बढिरहेको पनि यथार्थ हो । तर, बारम्बार व्यवस्था परिवर्तनले मात्रै देशको भवितव्य बदलिँदैन भन्ने मान्यता राख्ने जनमत पनि ठूलो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर