उपसचिवलाई मुक्का हान्ने वडा अध्यक्ष फेरि विवादमा, दुर्व्यवहार गरेकाे भन्दै महिलाहरु आन्दोलित – Nepal Press

उपसचिवलाई मुक्का हान्ने वडा अध्यक्ष फेरि विवादमा, दुर्व्यवहार गरेकाे भन्दै महिलाहरु आन्दोलित

सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका- ३ का वडा अध्यक्ष विनोदसिंह विष्टलाई कारबाही गर्न माग गर्दै स्थानीय महिलाहरु आन्दोलनमा उत्रिएका छन् ।

‘वडा अध्यक्ष चाहिँदैन, पाँच वर्षसम्म कुनै सेवा सुविधा चाहिँदैन’ भन्ने नारा लगाउँदै महिलाहरु आन्दोलनमा उत्रिएका हुन् ।

राष्ट्रपति चुरे संरक्षण क्षेत्रको २६ लाख रुपैयाँबाट निर्माण भइरहेको तटबन्ध मापदण्ड विपरीत भएको भन्दै वडा अध्यक्ष विष्टले सिफारिस रोकेका थिए । उनले सिफारिस रोकेपछि स्थानीयसँग विवाद भएको जनाइएको छ ।

उक्त क्रममा वडा अध्यक्ष विष्टले गुण्डा लगाएर महिलामाथि दुर्व्यवहार गरेको स्थानीयको आरोप छ । त्यसैले स्थानीय महिलाहरुले वडा अध्यक्ष विष्टलाई कारबाही गर्न माग गर्दै आन्दोलन गरेका छन् ।

आफूहरुले तिरेको कर गुण्डा पाल्न नभई जनताको सेवा गर्न भएको आन्दोलित महिलाहरूको भनाइ छ । ‘अध्यक्ष विष्टले हामीमाथि अभद्र व्यवहार गर्नुभयो र हातबाट मोबाइल खोसेर गुण्डा बोलाउनुभयो । अध्यक्षले मार्ने धम्की दिनुभएको छ’, एक महिलाले भनिन् ।

वडाध्यक्ष विष्टले केही समयअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत उपसचिव नेत्र कार्कीलाई मुक्का हानेको भिडिओ भाइरल भएको थियो ।

नेकपा एमालेबाट निर्वाचित विष्ट मनोमानी ढंगले चल्ने, कसैले भनेको नमान्ने प्रवृत्तिको भएको सोही वडाका सदस्यहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर