समीक्षा अधिकारी : सुस्ताएको करिअरमा बहारको संकेत – Nepal Press

समीक्षा अधिकारी : सुस्ताएको करिअरमा बहारको संकेत

एकै दिन चार गीत रेकर्ड गराइन्

काठमाडौं । कलिलै उमेरमा गायन क्षेत्रमा जमेकी गायिका हुन् समीक्षा अधिकारी । उमेरले बालिग पनि नभएकी उनमा गायन क्षेत्रका चर्चित अनि ठूला हस्तिलाई समेत टक्कर दिने आवाज अनि कला छ । तर, यतिबेला उनी कठीन समयबाट गुज्रिरहेकी छिन् ।

दुईवर्ष अघिसम्म समीक्षाको करिअरले लोभलाग्दो रुपमा उचाईं लिइरहेको थियो । मोस्ट डिमान्डेड गायिकामा पर्थिन् उनी । हरेक दिन गीत रेकर्डिङदेखि स्टेज शोसम्ममा भ्याइनभ्याइ हुन्थ्यो । स्कुल पढ्दै गरेकी किशोरीले ‘स्टार’को छवि बनाइसकेकी थिइन् ।

तर, निजी जीवनसँग जोडिएको एउटा स्क्यान्डलले गर्दा समीक्षाको करिअरमा धाँजा फाट्यो । उनी नराम्रोसँग विथोलिइन् । सामाजिक सञ्जालमा उनीविरुद्ध गालीका बौछार हुन थाले । सामान्य फोटो राख्दा पनि ‘रिप’ को बाढी लागिहाल्थ्यो । उनीसँग आँशु र पीडाबाहेक केही पनि थिएन । एकपटक त उनले अब बाँच्नै नसक्ने अवस्थामा पुगेको स्टाटससमेत लेखेकी थिइन् । पछि हटाइन् ।

त्यतिबेला समीक्षालाई साथ दिनेहरु निकै कम थिए । कलाकारितामा उनकै सहकर्मीहरु उनीसँग फोटो खिच्न डराउँथे । खिचे पनि सामाजिक सञ्जालमा हाल्दैनथे । समीक्षासँग फोटो हाल्दा उनीहरुले पनि गाली खानुपथ्र्यो । उनलाई गीत दिन कसैले हिम्मत नै गर्न छोडे । पहिले उनीसित काम गर्न कैँयौ दिन पर्खेर अपोईन्टमेन्ट लिने व्यक्तिहरु अब उनी देख्दा पनि भाग्ने भए । यसले गर्दा समीक्षा कामविहीन बनिन् ।

सँगै उदाएका गायिकाहरु देश-विदेशका कार्यक्रमहरुमा व्यस्त रहँदा समीक्षामा घरमै रोएर दिन काटिरहेकी थिइन् । कयौं दिनसम्म उनले गीत गाउन सकिनन् । फलतः करिअरमा ग्रहण लाग्यो ।

समीक्षाको जिन्दगी र करिअरले यसरी यु-टर्न लिनुको कारण थियो, उनले अभिनेता पल शाहविरुद्ध हालेको मुद्दा । जतिबेला पलविरुद्ध उनले अदालतको ढोका ढक्ढकाइन्, त्यसपछि उनका दुर्दिन सुरु भएका थिए । पलका समर्थकहरुले उनीमाथि सामाजिक सञ्जालमा निर्दयी आक्रमण गरे । उनले जाति गाली नेपालमा सायदै कुनै कलाकारले खाएका थिए । १७ वर्षको कलिलो उमेरमा उनीमाथि यस्तो प्रारब्ध आइलाग्यो कि उनले पटक–पटक हरेक खाइसकेकी थिइन् ।

अन्ततः समीक्षाले पलविरुद्धको मुद्दामा बयान फेरिन् । आफूले लगाएको सबै आरोप झूटा भएको भन्दै अदालतमा उनले ‘होस्टाइल’ बयान दिएपछि मुद्दाले पनि युटर्न लियो । पलले उन्मुक्ति पाए । समीक्षामाथिको हमला केही हदसम्म मत्थर भयो । संगीतमा फेरि सक्रिय हुन प्रयास गरिन् । यद्यपी, पलका समर्थकहरुको आक्रोश बाँकी नै थियो । एकपटक स्टेज शोकै क्रममा उनलाई ढुंगाले हानियो । चोट पनि लाग्यो । ब्याक स्टेजमा गएर रोइन् । तर, फेरि गायनलाई निरन्तरता दिइन् ।

केही समयअघि समीक्षा आफ्नी दिदीसँग अष्ट्रेलिया गइन् । अष्ट्रेलियामा दुई महिना बिताएर उनी हालै स्वदेश फर्केकी छन् । अहिले भने माहोल फेरिएको छ ।

अष्ट्रेलियाबाट फर्किएपछि उनले एउटा टेलिभिजनलाई अन्तरवर्ता दिइन्, जुन उनको पल शाह कन्ट्रोभर्सीपछिको पहिलो थियो । जब पहिलोपटक उनले आफ्ना मनका कुराहरु पोखिन्, धेरै मानिसहरुको सोच र उनीप्रतिको दृष्टिकोण बदलियो । सामाजिक सञ्जालमा कयौंले सहानुभूति व्यक्त गरे । उनीमाथिको गाली एकाएक साम्य भएको छ । समीक्षाको अनुहारमा मुस्कान फर्किएको छ ।

यससँगै समीक्षाको करिअरले पनि नयाँ गति लिने संकेतहरु देखिएका छन् । पहिलो उनीसँग फोटो खिच्न डराउन कलाकारहरु अहिले फेरि गीतको अफर लिएर आउन थालेका छन् । आखिर सबैले बलेको आगो नै ताप्ने हुन् । जे भए पनि समीक्षाको सुस्ताएको करिअरमा बहारको आशा पलाएको छ । अब उनी सबै भुलेर आफ्नो गायनमा फोकस्ड हुन चाहन्छिन् । यहीबीचमा भर्खरै प्लस टुको परीक्षा पनि सकाइन् ।

समीक्षाको जादुमयी स्वरका पारखीहरु धेरै छन् देशमा । उनको आवाजमा जुन मौलिकता छ, जुन गहिराई छ, त्यसले धेरै ठूलो ख्यातिको माग गर्छ । अब उनलाई खाँचो छ, एउटा सुपरहिट गीतको ।

‘माया मारेर…’ देखि ‘माया देकै हो…’ सम्म आइपुग्दा उनले आफूलाई प्रतिभाको खानीका रुपमा चिनाइसकेकी छन् । उनीसँग धेरै लामो सांगीतिक यात्रा बाँकी छ । उमेरले पनि त टिनएजर नै हुन् ।

एक वर्षसम्म मानसिक यातना भोगेकी समीक्षा अब पुरानै दैनिकीमा फर्केकी छन् । उनकोे हिजो एकै दिनमा चारवटा गीत रेकर्ड गराइन् । यसले पनि उनी फेरी डिमान्डेड बनेको संकेत गर्छ ।

पशुपति शर्मा, नरेश खातीजस्ता गायकहरुसँग उनले गीत रेकर्ड गराएकी छन् । भविष्यमा उनले गीतको छनोटमा भने धेरै ध्यान दिनुपर्ने छ । यसबीचमा अफर आएका जस्ता गीत पनि आउँदा उनलाई असफलताको ट्याग लागिरहेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको समिक्षालाई समाजले हेर्ने दृष्टिकोण बदलिएको छ । कम उमेरमै लभको चक्करमा पर्दा उनले निकै ठूलो सजाय भोग्नुपर्यो । यसबाट पाठ सिकेर उनले आफूलाई नयाँ शिराबाट अघि बढाइन् भने धेरैका निम्ति प्रेरणा बन्न सक्नेछिन् । अब उनले आफ्नो पढाइ र करिअरमा फोकस्ड हुनुपर्छ । प्रेम गर्नलाई समय धेरै बाँकी छ ।

 


प्रतिक्रिया

One thought on “समीक्षा अधिकारी : सुस्ताएको करिअरमा बहारको संकेत

  1. अर्को लाई दोश दिनु नै गलत थियो बालिग वा नाबलिग त्यो आफुमा भर पर्ने कुरो हो।तर आफुले चाहादा जे पनि गर्न पाउने महिला अधिकार?जे होस आगामी दिन राम्रो होस।

Leave a Reply to basant bahadur thapa magar Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर