राप्रपा नेपाल कार्यसम्पादन समितिमा उठ्यो प्रदेश संरचना खारेज गर्ने प्रस्ताव – Nepal Press

राप्रपा नेपाल कार्यसम्पादन समितिमा उठ्यो प्रदेश संरचना खारेज गर्ने प्रस्ताव

काठमाडौं । राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिवेदनहरु अनुमोदन गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत व‘र्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’, महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण,संगठन र युवा स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल गरी केन्द्रीय समितिमा प्रस्तुत गर्न अनुमोदन गरेको हो ।

बैठकमा संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएकाले बीचको प्रदेशको संरचना खारेज गर्नुपर्ने बहस भएको छ । प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

यसबारेमा केन्द्रीय समितिमा थप विस्तृत छलफल भई निर्णय हुने पार्टीका महामन्त्री बर्तौलाले जानकारी दिए । बैठकले जनवर्गीय संगठन, विभाग र समितिहरुको ६ महिने कार्ययोजनालाई पनि केन्द्रीय समितिमा प्रस्तुत गर्ने गरी अनुमोदन गरेको छ ।

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक जेठ ९ र १० गते काठमाडौंमा बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर