राहदानी विभागको अनुगमनमा परराष्ट्रमन्त्री साउद, नागरिकलाई समयमै सेवा सुविधा उपलब्ध गराउन निर्देशन – Nepal Press

राहदानी विभागको अनुगमनमा परराष्ट्रमन्त्री साउद, नागरिकलाई समयमै सेवा सुविधा उपलब्ध गराउन निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राहदानी विभागलाई नागरिकले पाउने सेवा सुविधाहरु समयमै उपलब्ध गराउने निर्देशन दिएका छन् ।

त्रिपुरेश्वरस्थित विभागको आइतबार अनुगमन गर्दै उनले सेवाग्राहीलाई सेवा सुविधाहरु समयमै उपलब्ध गराउन महानिर्देशक सुरेन्द्र यादवलाई निर्देशन दिएका हुन् ।

‘मैले सबै नागरिकहरुले आफ्नो अधिकारबमोजिम पाउने सेवा सुविधाहरु उचित किसिमले समयमा उपलब्ध गराउनुपर्छ भनेर भनेको छु’, विभागको अनुमगनपछि मन्त्री साउदले भने, ‘यसमा केही कमिकमजोरी भएको छ भने पनि त्यसलाई हटाउन म फेरि समीक्षा गरेर निर्देशन दिन्छु ।’

उनले अनुगमनका क्रममा सेवाग्राहीले राहदानी बनाउँदा ढिलासुस्ती हुने गरेको आफूलाई गुनासो गरेको पनि बताए ।

‘मैले केही सेवाग्राहीहरुलाई सोधें, अलिकति ढिलाइ छ भन्ने सिकायत गरेका छन् । अलि स्पेस कम भयो भन्ने कुरा पनि आएको छ’, साउदले भने, ‘विशेष गरेर सेवाग्राहीलाई ओपन स्पेस छैन, बस्नलाई पनि ठाउँ कम भयो भन्ने कुरा पनि आएको छ । यी सबै कुराको अध्ययन गरेर म हेर्छु ।’

उनले राहदानी विभागमा सेवा लिन आउने सेवाग्रहीहरुले भोग्नुपरेको कठिनाइबारे बुझ्न आफू आएको पनि बताए । मन्त्री साउदले अनुगमनका क्रममा सेवाग्राहीदेखि कर्मचारीसँग समेत छलफल गरेका थिए ।

‘यो ठाउँका विशेष गरेर उपभोक्ताहरुलाई के कस्तो कठिनाइ छ । गाह्रो परिराखेको छ कि के छ, यहाँ कमर्चारीले कसरी काम गरिराख्नुभएको छ भनेर हेर्न आएको हुँ’, परराष्ट्रमन्त्री साउदले भने ।

दैनिक हजारौं सर्वसाधारण राहदानी लिन लाइन लाग्ने यो कार्यालयको सेवा सुस्त रहेको गुनासो आउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर