शरणार्थी प्रकरणमा ३२ जनामाथि मुद्दा चलाउन प्रहरीको सिफारिस, १६ जना फरार सूचीमा – Nepal Press

शरणार्थी प्रकरणमा ३२ जनामाथि मुद्दा चलाउन प्रहरीको सिफारिस, १६ जना फरार सूचीमा

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोजिएको घटनामा प्रहरीले ३२ जनालाई अभियुक्त बनाएको छ । उनीहरुमाथि ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गर्दै सकेसम्म आजै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी रहेको स्रोतले बतायो ।

यस घटनामा पहिलो पक्राउ गरिएको आज ५७ औं दिन हो । सरकारी वकिल कार्यालयले ६० औं दिन अर्थात् बुधबारसम्ममा अदालतमा अभियोगपत्र दायर गरिसक्नुपर्ने हुन्छ । त्यसैले प्रहरी अधिकारीहरुले हिजो रातिसम्म बसेर प्रतिवेदनलाई अन्तिमरुप दिन लागिपरेका छन् ।

यस प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् भने थप १६ जनालाई प्रहरीले फरार सूचीमा राखेको छ । फरार भएकामध्ये पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजबाहेक अरु लो प्रोफाइलका हुन् ।

प्रहरी स्रोतका अनुसार शरणार्थी प्रकरणमा २२ वटा जाहेरी परेका थिए । १०६ जनाले आफूहरुलाई पीडितका रुपमा प्रस्तुत गरेका छन् ।

प्रहरीले आरोपिहरुमाथि चारवटा अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ । उनीहरुलाई ठगी, सरकारी कागजात किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको हो । तत्कालीन समयमा सार्वजनिक पद धारण गरेकाहरुको हकमा अख्तियारलाई पत्र लेख्ने तयारी छ । अन्यको हकमा सम्पत्ति सुद्धिकरण विभागलाई पत्राचार गरिनेछ ।

स्रोतका अनुसार प्रहरीले ३२ जना आरोपिबाट २६ करोड ८८ लाख ७५ हजार रुपैयाँ विगो दावी गर्न सिफारिस गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *