आफ्नो जनप्रतिनिधिको कामबारे जनमत पार्टीले जनमत संग्रह गर्ने – Nepal Press

आफ्नो जनप्रतिनिधिको कामबारे जनमत पार्टीले जनमत संग्रह गर्ने

जनकपुरधाम । जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले निर्वाचित भएको एक वर्षमा कस्तो काम गरेको विषयमा जनमतसंग्रह गर्ने भएको छ ।

जनमतका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले आफ्ना जनप्रतिनिधिको कामबारे ‘जनप्रतिनिधि अनुमोदन जनमतसंग्रह’ गर्ने घोषणा गरेका हुन् ।

‘०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट तपाईँ जनप्रतिनिधिको रूपमा निर्वाचित भएको करीब एक वर्ष पुगेको छ’, अध्यक्ष राउतले विज्ञप्तीमा भनेका छन्, ‘यस अवधिमा तपाईँको कार्यलाई जनताले अनुमोदन गरेको छ वा छैन जनमतसंग्रह गराउनका लागि तपसिलको मितिमा कार्यक्रम हुने व्योहोरा अवगत गराइन्छ ।’

ुराइट टू रिकलुको अवधारणा अनुसार निर्वाचित जनप्रतिनिधिहरूको समग्र कार्यमूल्याङ्कन गरी समय-समयमा सकारात्मक सुझाव दिएर जनताको हकमा काम गर्न अभिप्रेरित गर्ने, सचेत गराउने तर जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रण बाहिर गएमा आवश्यक कारबाही गर्ने वा जनप्रतिनिधिलाई पार्टीले फिर्ता बोलाउन जनमतसंग्रह गरिने अध्यक्ष राउतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

जनमतसंग्रहमा ०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडारपालिकाको जनमत पार्टीका सदस्यहरू मतदान गर्ने उनले उल्लेख गरेका छन् ।

जनमतसंग्रहमा ‘तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणा अन्तर्गत जनताको लागि काम गरेको छ कि छैन? प्रश्न सोधिनेछ । जनमतसंग्रहको परिणाम अनुसार जनप्रतिनिधिबारे पार्टीले आवश्यक निर्णय लिने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर