खाडाचक्रमा फोहोर व्यवस्थापन नहुँदा बजार क्षेत्र दुर्गन्धित – Nepal Press

खाडाचक्रमा फोहोर व्यवस्थापन नहुँदा बजार क्षेत्र दुर्गन्धित

सुर्खेत । कालिकोटको मुटुमा रहेको खाडाचक्र नगरपालिकामा फोहोर व्यवस्थापन नहुँदा मान्म बजारमा दुर्गन्धित बढ्दै गएको छ । खाडाचक्र नगरपालिका मान्म बजार क्षेत्रमा रहेको मान्म बरातु सडक छेउछाउमा फोहोर जथाभाबी फालिने गरिएको हो ।

उक्त क्षेत्रमा फोहोरको दुर्गन्धले आवतजावत गर्न समेत समस्या हुने गरेको स्थानीय जनक रोकायाले बताए । फोहोर जथाभाबी फालिएको हुँदा मान्म बरातु सडकमा आवतजावत गर्न समस्या हुने गरेको रोकायाको गुनासो छ ।

यता, खाडाचक्र नगरपालिकाले भने फोहोर व्यवस्थापनमा कुनै चासो दिएको देखिँदैन् । कालिकोटको खाडाचक्र नगरपालिको मान्म बजारबाट ८ वटा स्थानीय तह, जुम्ला र मुगु जाँदा पनि मान्म बजार हुँदै जानुपर्छ । मान्म बजारको मुख्य क्षेत्र जिरो प्वाइन्ट, पुरानो बसपार्क र मान्म बरातु सडकमा बढी फोहोर हुने गरेको छ ।

साथै, नगरपालिकाको बजार क्षेत्रमा रहेको पर्यटकीय क्षेत्र ठुलो ढुङ्गा जाने सडक छेउछाउमा पनि उतिकै फोहोर रहेको छ । उक्त ठाउँमा जिल्ला प्रशासन कार्यालय, खानेपानी कार्यालय पनि रहेका छन् । सो ठाउँ फोहोर मात्रै नभएर शौचालयका रूपमा पनि प्रयोग गरिँदै आएको छ ।

नगरपालिकामा २०७६/०७७ मा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको कामको सुरुवात गरेको थियो । नगरपालिकाले १५ लाखको लागतमा डम्पिङ साइट निर्माण गरेको थियो । त्यस्तै, डिभिजन वन कार्यालयले २०७८ मा १५ लाख बजेट सहयोग गरेको थियो ।

उक्त बजेटबाट ट्याक्टर जाने सडक, वाला, खाल्डा खन्ने काम र सोलिङ्गको काम गरेको थियो । हाल डम्पिङ साइटमा फोहोर व्यवस्थापन गरिएको छैन । पहिला वडा–३ सियालावासीहरुले खानेपानी मुहान र वस्ति दुर्गन्धित भयो भनेर विरोध गरेका थिए ।

नवज्योति सामुदायिक वन र पञ्चदेवल सामुदायिक वनमा पनि जथाभाबी फोहोर फाल्ने गरिएको स्थानीयले गुनासो गर्ने गरेका छन् । फोहोर व्यवस्थापन नहुँदा वन क्षेत्र पनि कुरूप बन्दै गएको छ । नगरपालिकामा फोहोर व्यवस्थापनका लागि गाडी भएपनि गाडिले डम्पिङ साइटमा फोहोर फाल्ने नगरेर जथाभाबी फाल्ने गरेको स्थानीयले बताउँछन् ।

खाडाचक्र नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मराज टमटाले उक्त ठाउँमा फोहोर व्यवस्थापन नहुनुमा आफ्नो पनि कमजोरी रहेको बताएका छन् । अब आउने आर्थिक वर्षमा फोहोर र सडक व्यवस्थापन गरिने उनले भने’, ‘जथाभाबी फोहोर फालिनु अरूका लागि मात्रै नभएर हाम्रो लागि पनि लाजमर्दो कुरा भएको छ ।

यस्तै, खाडाचक्र नगरपालिका नगरप्रमुख कमल शाहीले बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि आउने आर्थिक वर्षमा डम्पिङ साइटको व्यवस्थापन गरिने बताए ।

सामुदायिक वन क्षेत्रमा नगरपालिकाले फोहोर जथाभाबी फाल्दा पनि डिभिजन वन कार्यालयले नदे झैँ गरेको छ । फोहोरलाई सामान्य रूपमा बुझ्दा वातावरणीय, स्वास्थ्य, सामाजिक असर पर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *