शिशु, गर्भवतीदेखि दीर्घरोगीसम्मको विवरण डिजिटलाइज्ड गर्दै लिखु तामाकोशी गाउँपालिका – Nepal Press

शिशु, गर्भवतीदेखि दीर्घरोगीसम्मको विवरण डिजिटलाइज्ड गर्दै लिखु तामाकोशी गाउँपालिका

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले डिजिटल प्रविधिबाट प्राथमिक स्वास्थ्य सेवा सुरू गर्ने भएको छ ।

गणेश उज्जन फाउण्डेसनसँगको सहकार्य तथा जापानको एनपिओ ‘आशा’ र काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोगमा यसै आर्थिक वर्षदेखि यो प्रविधि भित्र्याउन लागिएको हो । ‘आशा कनेक्ट’ मार्फत गर्भवती महिला, शिशुहरू, दीर्घरोगीको विवरण संकलन गर्ने तथा स्वयं हेरचाहको व्यवहारिक ज्ञान सिकाइने छ ।

यसरी विवरण संकलन गर्दा स्वास्थ्यका अन्य योजना तथा रणनीति बनाउनसमेत सहयोग पुग्ने फाउण्डेसनकी अध्यक्ष सावित्री श्रेष्ठ बताउँछिन् ।

‘यसले आम मानिसको स्वास्थ्य अवस्था सुदृढ बनाउन बनाउनका प्रत्यक्ष भूमिका खेल्छ । विभिन्न किसिमका बिरामीको पहिचानपश्चात हेरचाह कसरी गर्ने भन्ने ज्ञान बाढ्न सक्छ । कुन वडामा कति जना कस्ता बिरामी छन् भन्ने पनि सहजै थाहा हुन्छ’, श्रेष्ठले भनिन् ।

उनका अनुसार बिरामीको पहिचान भइसकेपछि स्वास्थ्य शिविर सञ्चालन, उपचार योजना, औषधी व्यवस्थापनको लागि पनि यसले सहयोग पुर्‍याउनेछ ।

दुई वर्षे यस कार्यक्रमको अनुमानित बजेट १ करोड छ । कार्यक्रम सञ्चालन र व्यवस्थापनका लागि फाउण्डेसनले स्थानीयस्तरमा स्वास्थ्य स्वयंसेविका र कर्मचारी नियुक्त गरिनेछ । यस कार्यक्रमले स्थानीय स्तरको स्वास्थ्य समस्याका पहिचानसँगै स्वस्थ समाज निर्माणमा मद्दत पुग्ने लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महत बताउँछन् ।

विगत ७ वर्षदेखि नेपालका विभिन्न क्षेत्रमा काम गर्दै आएको ‘आशा’ अध्यक्ष योशिफुमी यिनले डिजिटल प्रविधिमार्फत स्वास्थ्य सेवा प्रणाली सुधारमा गाउँपालिकाको प्रतिबद्धता र फाउण्डेसनसँगको सहकार्यले महत्वपूर्ण भूमिका रहने बताए ।

उनले अन्य स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर