छाउपडी मेला : देउडा गीतमार्फत सचेतना फैल्याइँदै – Nepal Press

छाउपडी मेला : देउडा गीतमार्फत सचेतना फैल्याइँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कार्यालय नजिकै रहेको छ खुल्ला चौर । उक्त चौरमा प्रत्येक महिनाको १ गते र १५ गते देउडा मेला लाग्ने गर्छ । देउडा हेर्नलाई कर्णालीका विभिन्न जिल्लाबाट देउडा प्रेमीहरु आउने गर्दछन् ।

चर्को घाममा छाताको साहारा लिएर दर्शकहरु चौर भरि छरिन्छन् । त्यहाँ प्राय बुढापाकाहरु देउडा गीत गाउन र सुन्न आउने गर्दछन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रख्यात रहेको देउडा पछिल्लो समयमा भने लोप हुने चिन्ता बढेको छ भने गाउँघरमा पनि कम हुँदै गएको छ ।

देउडा गीतलाई जगाएर राख्न उक्त चौरमा देउडा मेला लाग्ने गरेको छ । त्यसै अवसरमा जेठ १ गते सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था मर्यादित महिनावारीका लागि कर्णाली एलाइन्स (कदम)ले छाउपडी मेलाको आयोजना गरेको थियो ।

जोगाएर राख्नुपर्ने पराम्परागत देउडा गीतलाई भन्दा लामो समयदेखि हाम्रो समाजमा जरा गाडेर बसेको छाउपडी प्रथा अझै जीवितै छ । लोप हुन लागेको देउडा गीतलाई बचाँउनुको साटो हाम्रो समाजले परम्परागत रुढीबादी छाउपडी प्रथालाई मान्दै आएको छ । अझै पनि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै जसो जिल्लाहरुमा यो प्रथा जारी नै रहेको पाइन्छ ।

त्यसै प्रथालाई केही मात्रामा कम गर्न कमदले छाउपडी मेलाको आयोजना गर्दै देउडा खेल खेलाएको थियो । उक्त मेलामा महिनावारी व्यवस्थापन सम्बन्धी विविध विषयमा जानकारी दिइएको थियो । कलाकारहरुले देउडामार्फत छाउपडी सम्बन्धित सचेतना मूलक टुक्का, गीत भनेर देउडा खेल खेलेका थिए ।

यस्तै, मेलामा जानकी रोकाया ऐडिले ठाडो भाकामार्फत छाउपडी हुँदाको पीडा व्यक्त गरिन् । उनले

सेनेटरी लगायौं सफा बनौ सुगर बनौ
समाजबाट भगायौं छाउपडी चेतना प्रथा

फोहोर डस्बीन पन, सफा चिज शरीर कन
स्वास्थ्य नै धन हो, घरबाट नजानु पर

कानुन आएको छ, २०७५ साल
बन्देज लाएको छ, छाउपडीलाई हेला गर्न

यस्तै, रोकाया जस्तै मेलामा उपस्थित कलाकारहरुले देउडा गीतमार्फत छाउपडी प्रथा न्युनिकरणका लागि सचेताना जगाएका थिए ।

कर्णाली प्रदेशमा महिनावारी व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न विकास साझेदार संघ संस्था लगायत सरोकारवालाहरुको साझा मञ्चको रुपमा कदम अभियानको स्थापना भएको हो ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखा प्रमुखको अध्यक्षतामा गठन गरिएको कदममा हाल ३० भन्दा बढी संघसंस्था आवद्ध रहेको छन् ।

कदमले विश्व महिनावारी स्वच्छता दिवसको सन्दर्भमा ‘महिनावारी हुँदा पर हैन घर’ भन्ने कर्णालीमैत्री नारा समेत तय गरेको छ ।

हरेक वर्ष मे २८ मा मनाइने विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी कदमले सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना गरेको थियो ।

उक्त मेलामा छाउपडी सम्बन्धी जनचेतनामूलक देउडा खेल प्रतियोगिता तथा कदमको सद्भावना दुत समेत रहेकी कालाकार सुनिता बुुढा क्षेत्रीको साँगीतिक प्रस्तुति गरेकि थिईन् । मेलामा छाउपडी सम्बन्धी जानकारी दिन विभिन्न स्टलहरू राखिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर