प्राधिकरणले भन्यो- तोकिएको शुल्कभन्दा बढी इन्टरनेट सेवाको शुल्क लिए खबर गर्नुस् – Nepal Press

प्राधिकरणले भन्यो- तोकिएको शुल्कभन्दा बढी इन्टरनेट सेवाको शुल्क लिए खबर गर्नुस्

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई आफूखुसी मिलेमतो गरेर शुल्क नबढाउन नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

बढ्दो महँगी, बैंकिङ तरलतालगायत विभिन्न कारण देखाएर ग्राहकसँग लिने महसुल दर आपसी मिलेमतोमा बढाउन खोजेपछि नियामक दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई बढी शुल्क नअसुल्न भनेको हो ।

प्राधिकरणबाट अनुमति पत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत ग्राहकसँग लिने शुल्क÷महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमति पत्रको शर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुसार सेवा प्रदायकहरूलाई शुल्क/महशुलदर स्वीकृत गराएर मात्र लागू गर्न भनेको छ । यदि कुनै उपभोक्ताहरूलाई स्वीकृत महसुल दर भन्दा बढी शुल्क लिने गरी बिल/बिजक जारी गरिएको भए सो को जानकारी प्राधिकरणलाई उपलब्ध गराउन भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर