दर्ता भयो नेपाली उत्पादन ‘यात्री’ मोटरसाइकल – Nepal Press

दर्ता भयो नेपाली उत्पादन ‘यात्री’ मोटरसाइकल

काठमाडौ । नेपालमै उत्पादन भएको मोटरसाइकल यात्री दर्ता हुन थालेको छ । नेपालमा सवारीसाधन दर्ताका लागि आयातको कागजपत्र चाहिने व्यवस्थाका कारण उत्पादन भएर पनि दर्ता हुन नसकेको यात्रीको मोटरसाइकल सोमबार (हिजो) यातायात व्यवस्था कार्यालय गर्जुधारामा दर्ता भएको छ ।

गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी-१ बाइक ग्राहकलाई डेलिभर गरेको थियो । तर, दर्ता हुन नसक्दा यात्रीले उत्पादन गरेका मोटरसाइकलहरूले नम्बर प्लेट पाउन सकिरहेका थिएनन् । कम्पनीले समेत थप उत्पादन रोक्नुपर्ने अवस्था आएको थियो । अब भने दर्ता सुरू भएको छ । यात्रीको पी-१ मोटरसाइकल नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको हो ।

पी-१ यात्रीले नेपालमै उत्पादन गरिरहेको विद्युतीय मोटरसाइकल हो । बागमती प्रदेश ०२ बा ४३ प ८६५० नम्बरको पी-१ बाइकले पूर्णरूपमा नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।

नेपालमा सवारी दर्ता गर्दा भन्सार प्रज्ञापनपत्र (एलसी) र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था थियो । सो व्यवस्था संशोधनपछि यात्रीले दर्ता हुन पाएको हो । यात्री मोटरसाइकलले नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने लक्ष्यसँगै सन् २०१७ को डिसेम्बरमा कम्पनी दर्ता गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *