राप्रपा केन्द्रीय समिति बैठक जारी, अध्यक्षको प्रतिवेदन लगायतमा छलफल हुने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमवारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ ।
यसै गरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगठानिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थाले पछि सरकार छाड्नु परेको जनाएका छन् । उनले पेश गरेको प्रतिवेदनमा हाल भइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि विदेशी संलग्न रहेको आरोप लगाएका छन् ।
‘प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा छ । सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसङ्ग चले जस्तै बाह्य दबाबबाट मात्र भ्रष्टाचारको छानबिन हुन थालेको प्रसङ्ग चल्नु राष्ट्रिय लज्जाको विषय हो,’ अध्यक्ष लिङदेनले भनेका छन्, ‘सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ, यो यथार्थ अवस्था दण्डहीनताको श्रृङ्खलाहरूले आफैँ प्रमाणित गरेको छ ।’
उनले अगाडी भनेका छन्, ‘धेरै पर जानै पर्दैन, वाइड बडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्य तथ्य सबै छर्लङ्ग हुन्छ ।’
उनले भ्रष्टाचारको विरुद्धमा निर्मम भएर उभिन पनि पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् । मुख्य दलका अराजनीतिक गतिविधि र भ्रष्ट प्रवृत्तिका कारण संवैधानिक राजतन्त्रको औचित्य अझै बढ्न गएको उल्लेख गर्दै त्यसको पक्षमा माहौल सिर्जना गर्नका लागि उपयुक्त अवस्था सिर्जना भएको पनि लिङदेनले जनाएका छन् ।
अध्यक्षको राजनीतिक, महामन्त्रीको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि मङ्गलवारबाट छलफल हुने प्रवक्ता सगुन लावतीले जानकारी दिए ।