भ्रष्टारविरुद्धको आन्दोलन सडक होइन सदनबाट थालौं : ज्ञानेन्द्र शाही (भिडिओ) – Nepal Press

भ्रष्टारविरुद्धको आन्दोलन सडक होइन सदनबाट थालौं : ज्ञानेन्द्र शाही (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही भ्रष्टाचारविरुद्धको सडक आन्दोलनको विपक्षमा उभिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक आन्दोलन भन्दा संसदमा आन्दोलन गर्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ ४ गते भ्रष्टाचारविरुद्ध काठमाडौंमा आमसभा गर्दैछ ।

प्रमुख सचेतक शाहीले भने भ्रष्टाचारलाई न्यूनीकरण गर्न, भ्रष्टाचार गर्नेहरुको तीनपुस्ते सम्पत्ति हरण गरी आजीवन काराबास भोग्ने कानून यही संसदबाट बन्ने हुनाले संसद आन्दोलन गर्न उपयुक्त हुने तर्क गरे ।

उनले भ्रष्टाचारविरुद्ध लड्नका लागि पार्टी पंक्ति, दल र सिद्वान्त भन्दामाथि उठेर कानून बनाउने काममा एकजुट हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

‘तपाईहरु साँच्चै भ्रष्टाचारको विरुद्धमा लडने हो भने पार्टी पंक्ति, दल, सिद्धान्त भन्दामाथि उठेर कानून बनाउन तयार हुनुहुन्छ ? हुनुहुन्छ भने ल म आज हेर्न चाहन्छु-हात खडा गर्नुस् ल । ल गर्नुस् खडा । हुनुहुन्छ कोही ? त्यही भएको हुनाले मैले अहिले पनि भन्न चाहन्छु–यसो नगरौं’, शाहीले भने, ‘कृपया, तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्दैन । भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, भ्रष्टाचार गर्नेहरुलाई तीनपुस्ते सम्पत्ति हरण गर्ने, आजीवन कारवास भोग्ने कानून यही सदनबाट आजका दिनबाट पार्टी पंक्ति, सिद्धान्त नभनेर लागू गरौं । हामीलाई कानुन बनाएर कारबाही गर्न कसले रोक्छ ? कसैले रोक्दैन । त्यही भएर सडक आन्दोलन भन्दा संसद आन्दोलन गरौं । संसदमा एकजुट भएर अगाडि बढौं । म यही भन्न चाहन्छु ।’

प्रमुख सचेतक शाहीले त्यस अवसरमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि तयार हुने सांसदहरुले हात उठाउन पनि आग्रह गरेका थिए । उनले ‘तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु’ भन्ने खालको प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर