विप्लवको टिप्पणी- देशको नेतृत्व गरेकाहरु कौडीको भाउमा बिक्री नहुने लिलामी वस्तुको रुपमा फ्याँकिए – Nepal Press

विप्लवको टिप्पणी- देशको नेतृत्व गरेकाहरु कौडीको भाउमा बिक्री नहुने लिलामी वस्तुको रुपमा फ्याँकिए

‘उनीहरु आज जेलको छिँडीमा रुँदै बस्नुपर्ने स्थिति बनेको छ'

काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले हिजो देशको नेतृत्व गरेका व्यक्तिहरु आज दुई कौडीको भाउमा बिक्री नहुने लिलामी वस्तुको रुपमा फ्याँकिएको टिप्पणी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपप्रधानमन्त्री टोपबहादुर रामयाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत हाइ प्रोफाइलका व्यक्तिहरु पक्राउ परेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

अखिल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हिजोसम्म गृहमन्त्री भएर देशलाई नेतृत्व गरिरहेका, हिजोसम्म मन्त्री र उपप्रधानमन्त्री भएका मान्छेहरु आज दुई कौडीको भाउमा बिक्री नहुने लिलामी वस्तुको रुपमा फ्याँकिएका छन् । उनीहरु आज जेलको छिँडीमा रुँदै बस्नुपर्ने स्थिति बनेको छ । तर, हामीले खोतल्दै गयौँ भनेर धेरै कुरा देखिन्छ ।’

संसदीय व्यवस्थामा असल मान्छे हाले पनि सिंङपुच्छार उमारेर निस्किने टिप्पणी गरे ।

उनले भने, ‘अहिले जुनसुकै मान्छे पनि नेपालको प्रणालीबाट सन्तुष्ट छैन । यो व्यवस्थामा हामीले देखेको सपना पूरा हुँदैन भनेर बुझिसकेको छ । सपनाहरुमा हमला भइरहेको छ । हामी नेपाललाई नयाँ सुन्दर बनाउँन चाहन्छौं ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर