जग्गा कित्ताकाटमा समस्या देखिएपछि मन्त्रिपरिषद्ले माग्यो अर्को प्रस्ताव – Nepal Press

जग्गा कित्ताकाटमा समस्या देखिएपछि मन्त्रिपरिषद्ले माग्यो अर्को प्रस्ताव

काठमाडौं । गत बैशाख ५ गते सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत भएको मन्त्रिपरिषद्को निर्णय सुनाइन् । सो निर्णयसँगै मन्त्री शर्माले जग्गाको कित्ताकाटको समस्या समाधान हुने बताएकी थिइन् ।

तर, जग्गा कित्ताकाट गर्ने उक्त निर्णय कार्यान्वयनमा आएन । मन्त्रिपरिषद्ले नै स्वीकृत गर्ने निर्णय गरेको नियमावलीमा फेरि प्रस्ताव पठाउन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको सचिव डा. दामोदर रेग्मीले बताए ।

सचिव रेग्मीका अनुसार जग्गा वर्गीकरण र कित्ताकाटको व्यवस्थालाई सरलीकरण गर्न आर्थिक पूर्वाधार विकास समितिसँग छलफल गरेर पुनः प्रस्ताव पेश गर्न मन्त्रिपरिषद्ले निर्देशन दिएको हो । सोहीअनुसारको प्रस्ताव पठाउन छलफल गरिरहेको उनले जानकारी दिए ।

केही दिनमै प्रस्ताव लगिने उनको भनाइ छ । गत जेठ २३ मा नियमावली जारी हुँदा मंसिर २३ सम्म कृषि एवं गैरकृषि क्षेत्र छुट्याइसक्नुपर्ने भनिएको थियो । त्यसपछि १० वटा भागमा वर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख थियो ।

६ महिनामा ११० स्थानीय तहको मात्र जग्गा वर्गीकरणको काम सकिएको सचिव रेग्मीले बताए । अहिले १६० स्थानीय तहले जग्गा वर्गीकरणको काम सकेका छन् । नियमावलीको सुरुवाती चरणमा स्थानीय तहमा जनप्रतिनिधिहरु नयाँ भएकाले उनीहरुलाई वर्गीकरणको काममा अभ्यस्त हुन समय लागेको र फेरि मंसिरमा पनि चुनाव भएका कारण वर्गीकरणको काम प्रभावकारी हुन नसकेको रेग्मीको बुझाइ छ ।

नियमावलीले दिएको ६ महिनाको समय अपर्याप्त भयो भन्दै समय थप गर्न नियमावली संशोधनको लागि प्रस्ताव गरिएको थियो ।

पालिकाले समयमै भूमि वर्गीकरण गर्न नसक्दा घरजग्गा कारोबार र कित्ताकाटमा कमी आएको थियो । यसले राजस्वसमेत प्रभावित बनेका कारण अहिलेको आर्थिक मन्दीलाई बल पुगेको विश्लेषकहरु बताउँछन् ।

भू-उपयोग नियमावलीले स्थानीय तहले कृषियोग्य र गैरकृषियोग्य भूमि भनेर छुट्याएपछि मात्रै जग्गाको कित्ताकाट गर्न सक्ने व्यवस्था गरेको छ । भूमि नीति २०७२ सालमा आयो र त्यसको ८ वर्षपछि बल्ल नियमावली आएको थियो ।

अहिलेसम्म अंशबन्डा, कारोबार र कित्ताकाटसम्बन्धी समस्याको सहजीकरण संशोधित नियमावलीले गर्ने मन्त्री शर्माले निर्णय सार्वजिनक गर्ने क्रममा बताएकी थिइन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि जग्गा कित्ताकाट हुन नसक्दा अर्थतन्त्रमा समस्या आएको सार्वजिनक कार्यक्रममै बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर