हर्क साम्पाङविरुद्ध पत्रकार पनि आन्दोलित, उपमहानगरको गेटमा मुख थुनेर विरोध


विराटनगर । धरानका नगर प्रमुख हर्क साम्पाङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै सुनसरीका पत्रकार आन्दोलनमा उत्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको नेपाल पत्रकार महासंघ सुनसरीले पत्रकारहरूलाई पटकपटक गालीगलौज गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सोमबार उनीहरूले धरानमा मौन जुलुस निकाले ।
४ दिनअघि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको सुनसरी महासंघले प्रेस स्वतन्त्रतालाई सम्मान गर, तिमी शासक कि जनप्रतिनिधि ?, स्वतन्त्रपूर्वक बोल्न र लेख्न देऊ भनेर अभियान चलाइएको थियो । सोमबार भने प्ले कार्ड छातीमा भिरेर पत्रकारहरूको भानु चोकबाट मौन जुलुस निकालेका थिए ।
मौन जुलुसमा सहभागी पत्रकारहरूले पत्रकार तथा सञ्चार संस्थाप्रति मेयर साम्पाङको अभिव्यक्तिको विरोध स्वरूप नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध गरेका छन् ।
विरोध प्रदर्शनमा धरानका बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको ऐक्यबद्धताका साथै सहभागिता रहेको थियो ।