कक्षा १२ को परीक्षा गुमाएपछि गाउँपालिका अध्यक्ष भन्छन्- राजनीतिक प्रतिस्पर्धीले मलाई फँसाए – Nepal Press

कक्षा १२ को परीक्षा गुमाएपछि गाउँपालिका अध्यक्ष भन्छन्- राजनीतिक प्रतिस्पर्धीले मलाई फँसाए

‘सरकारी गाडी नै लिएर परीक्षा दिन गएको मान्छेलाई कीर्ते विद्यार्थी राख्यो भन्दा कति चित्त दुखेको होला ?’

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले कक्षा १२ को परीक्षामा कीर्ते गरेको ठहर गरिएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा शनिबार बसेको बैठकले उनले दिएका सबै परीक्षा रद्द गर्ने निर्णय लियो ।

कक्षा १२ को तेस्रो दिनको परीक्षामा गाउँपालिका अध्यक्ष मोक्तानको सिम्बोल नम्बर २२००३१२७ का दुईवटा उत्तरपुस्तिका भेटिएका थिए ।

‘सामाजिक अध्ययन तथा जीवनउपयोगी’ विषयको परीक्षामा बाहिरबाट ल्याइएको उत्तरपुस्तिका मिसाउने क्रममा विवाद भएको थियो । सीडीओसहितको टोली सुरूमा आउँदा मोक्तान अन्य परीक्षार्थीसँगै परीक्षा दिइरहेका थिए । तर, पछि विवाद भएपछि टोली फेरि सो विद्यालयमा फर्किएको थियो ।

प्रजिअ नेपालले एउटै सिम्बोल नम्बरका दुईवटा उत्तरपुस्तिका फेला परेपछि निजका सबै परीक्षा रद्द गर्ने निर्णय भएको बताइन् ।

‘परीक्षार्थी को हो भन्नेतिर हाम्रो चासो भएन । ऐन-कानूनअनुसार हामीले निर्णय गरेका छौं,’ उनले भनिन् ।

मोक्तानले यसअघि दिएका दुईवटा परीक्षा र त्यस घटनापछि दिएको अर्को परीक्षा पनि रद्द भएको छ । अब उनले बाँकी दुई परीक्षा पनि दिन नपाउने प्रजिअ नेपालले बताइन् । उनले सबै परीक्षा अर्को वर्ष फेरि दिनुपर्ने भएको छ ।

कक्षा ४ मा पढ्दापढ्दै माओवादी जनयुद्धमा लागेपछि मोक्तानले पढाइ छोडेका थिए । शान्तिप्रक्रियामा आएपछि उनले फेरि कक्षा ५ मा भर्ना भएर पढाइलाई निरन्तरता दिए । यसले गर्दा बीचमा ठूलो ग्याप भयो । उनले ३५ वर्षको उमेरमा दुई वर्षअघि मात्रै एसईई पास गरेका हुन् । अहिले ३७ वर्षका भए । मावि खयरसालमा प्लस २ अध्ययनरत उनले कपिलाकोट मावि महादेवस्थानबाट १२ को परीक्षा दिइरहेका थिए ।

मोक्तान भन्छन्- नक्कली परीक्षार्थी राखेको छैन

गाउँपालिका अध्यक्ष मोक्तानले आफूमाथि लागेको आरोप अझै अस्वीकार गरिरहेका छन् । उनले आफूले अन्य परीक्षार्थीसरह रितपूर्वक परीक्षा दिइरहेको दाबी गरे ।

‘म गाउँपालिकाको गाडी नै लिएर परीक्षा दिन गएको सबैले देखेका छन् । अरु विद्यार्थीहरूसँगै बसेर परीक्षा दिएको सबैलाई थाहा छ । निस्केको पनि देखेका छन् । मेरो सिम्बोल नम्बर लेखेको अर्को कपी कहाँबाट आयो मलाई थाहा भएन,’ उनले भने ।

मोक्तानसँग नेपाल प्रेसका लागि चिरञ्जीवी पौडेलले गरेको थप सवालजवाफः

– गाउँपालिका अध्यक्षजस्तो मान्छेले ‘खेताला’ राखेर कक्षा १२ को परीक्षा दिनुभएछ, यो त लाजमर्दो भएन ?

तपाईंहरूले पनि बुझिराख्नुभएको छ, म आफैं त्यहाँ बसेर परीक्षा दिएको कुरा । म कपी बुझाएर आएको ४५ मिनेटपछि अर्को कपी भेटियो भन्ने हल्लाको आधारमा नक्कली परीक्षार्थी राखियो भन्ने कुरा कति विश्वासिलो हो ? तपाईंहरू आफैं सोच्नुस् न ।

– तपाईंकै सिम्बोल नम्बरको अर्को कपी भेटिएपछि त तपाईंले नै त्यस्तो गर्न लगाएको भन्ने सहजै अनुमान गर्न सकिँदैन र ?

आशंका र अनुमान गर्ने कुरा आफ्नो ठाउँमा छ । मैले आफूले लेखेर बुझाइसकेपछि त्यसलाई सुरक्षित राख्ने दायित्व अरुको होला नि ।

– सुरक्षित राख्ने क्रममा नै गल्ती पत्ता लागेको हो नि त ?

सुन्नु न । कसैले मिसाइदिएर अनि मेरो नाम भजाउन मिल्छ ? कपीको सुरक्षा मैले गर्ने हो ?

मिसाउने प्रयास गर्दा नै समातिएपछि त तपाईंमाथि प्रश्न उठ्यो नि ।

मिसाउनेभन्दा पनि गन्ने क्रममा त्यो भएको छ । मैले पनि सोधेको छु । थुप्रोमा गन्ने क्रममा एक्ट्रा कपी निस्कियो । सिम्बोल नम्बर हेर्दा तपाईंको हो कि भन्ने आशंका भएपछि मैले भनेँ- ममाथि रचिएको त्यो षड्यन्त्र हो ।

– सीडीओसहित बसेको बैठकले तपाईंको सिम्बल नम्बरको दुईवटा कपी भेटिएको भनेर सबै परीक्षा रद्द गर्ने निर्णय गरिसक्यो । अब पनि ढाकछोप गर्न सम्भव छ र ?

सुन्नु न । ४५ मिनेटभित्रमा के-के गरे मेरो हातमा हुँदैन नि त । त्यो त अफिसको कुरा हो । मेरो साथबाट रंगेहात भेटिएको भए छुट्टै कुरा हुन्थ्यो । ४५ मिनेटभित्रमा त कपीमात्र होइन, जे पनि चेञ्ज गर्न सकिन्छ । कपी सुरक्षित राख्ने काम त उहाँहरूको हो । एउटै सिम्बल नम्बरका धेरै कपी भेटिए भने त्यसमा म कसरी जिम्मेवार हुन सक्छु ? ममाथि गरिएको षड्यन्त्र हो यो सबै । विभिन्न तरिकाले यो गरिएको हुन सक्छ । मैले असई साबकै अगाडि कपी बुझाएर आएको हुँ । त्यो पनि सामाजिक जस्तो सजिलो विषयमा मैले चिट चोरिरहनै पर्दैन । लामो समयदेखि हामीले गर्दै आएको कामको बारेमा लेख्ने न हो ।

– तर, कोर्सको किताब नपढिकन काम गरेको आधारमा परीक्षा त दिन सकिँदैन होला नि ? तपाईंले तयारी कति गर्नुभएको थियो ?

लामो समयदेखि मैले पढिराखेकै हो परीक्षाका लागि भनेर ।

– गाउँपालिकाको कामले गर्दा पढ्नलाई फुर्सद भएन होला । त्यसैले अर्को जुक्ति लगाउनुभएको हो कि ?

होइन.. खाने मुखलाई जुँगाले छेक्छ र ? फुर्सद निकालेर जहाँ जतिबेला पनि पढ्न सकिन्छ । किसानको छोराछोरीहरू गाईगोठाला जाँदा किताब-कापी बोकेर जाँदैनन् ? इच्छाशक्ति भएपछि पढ्नका लागि समय निकाल्ने मेरो कुरा भयो । मैले कसरी पास हुने भनेर राम्ररी तयारी नगरिकन परीक्षा दिन जाने कुरा पनि भएन ।

– तपाईंले १२ कक्षाको परीक्षा दिँदा पनि सहन नसकेर यत्रो षड्यन्त्र रच्नुपर्ने आवश्यकता चाहीँ कसलाई पर्‍यो होला त ?

यस्तो छ । निर्वाचनदेखि यहाँसम्म आउँदा, निर्वाचनको बेलामा पनि तपाईंले देख्नुभएको छ, यहाँ ठूलो षड्यन्त्र भएको थियो । विद्रोह भयो पार्टीभित्र पनि, बाहिरबाट पनि घेराबन्दी भयो । त्यसको बाबजुद पनि मैले निर्वाचित भएर पालिकाको अध्यक्ष बनेँ । कसैले पनि कल्पना गरेको थिएन कि प्रख्यात गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुन्छ भन्ने । मैले त चक्मा दिएर आएँ । त्यसपछि साथीहरू बाटोमा भेट्दा पनि नबोल्ने भएका छन् । कसरी हुन्छ मलाई फसाउने ध्याउन्नमा छन् । जबकि एक वर्ष मैले निर्विवादरूपमा, कसैमाथि पक्षपात नगरी काम गरेँ । यसलाई कताबाट फँसाउने भनेर यस्तो षड्यन्त्र रचिएको हो । एउटा सिम्बोल नम्बर कपीमा लेखेर मेरो नाम भजाउन खोजिएको हो । यसमा कुनै सत्यता छैन, मेरो तर्फबाट भन्नुपर्दा । कसैले कुनै कपीमा लेख्नेवित्तिकै कीर्ते विद्यार्थी राखेको भन्न मिल्दैन ।

– अनुगमन टोली आउँदा तपाईं परीक्षा हलमै हुनुहुन्थ्यो ?

परीक्षा हलमै त थिएँ । लेखिरहेको बेला सीडीओ साबले ‘तपाईंको अक्षर कति राम्रो रहेछ, पास मार्क त ल्याउनुहुन्छ होला’ पनि भन्नुभएको हो । म परीक्षा दिन आउँदा विद्यार्थीहरू अलिकति डराए पनि । गाउँपालिका अध्यक्ष आएपछि के हो के हो भन्ने भयो । मैले भनेँ- कक्षा कोठाभित्र पसेपछि म पनि तिमीहरूजस्तै विद्यार्थी हो है, नआत्तिइकन लेख । तिमीहरूको तरिकाले तिमीहरू लेख, मेरो तरिकाले म लेख्छु । मलाई आउने कुरा आफ्नो ढंगले लेख्ने कुरा हो, तिमीहरूलाई जेजे आउँछ लेख । नडराऊ । यहाँबाट निस्किएपछि म गाउँपालिका अध्यक्ष हुँ । कम्पाउण्डभित्र पसेपछि म विद्यार्थी हो, परीक्षार्थी हो भनेर मैले यसरी विद्यार्थीलाई सुरूदेखि सम्झाएको थिएँ ।

– तर, तपाईंलाई त विद्यालयको लाइब्रेरीमा एक्लै राखेर परीक्षा दिलाएको पो आरोप छ त ?

आरोप त धेरै आए नि सर । कीर्ते विद्यार्थी नै कक्षाकोठामा राखेर परीक्षा दियो भने । त्यसमा सत्यता छ त, ल भन्नुस् त ? म त दैनिक गाउँपालिकाको गाडी लिएर परीक्षा दिन जान्छु । फर्किन्छु त्यही गाडीमा । मैले लुकीछिपी गरेको हो त ? ल भन्नुस् त ? मेरो कमजोरी छ ? म नगइकन अर्को मान्छे राखेको भए पो म कीर्तेमा पर्छु त । मलाई त यहाँ छ्याप्छ्याप्ती मान्छेले कीर्ते भन्या छन् । तपाईंहरूजस्तो जिम्मेवार पत्रकारले पनि त्यसरी लेख्नुभएको छ । डबल सिम्बोल नम्बर भेटियो भनेर लेख्ने कुरा स्वाभाविक होला । तर, कीर्ते कसरी भन्न मिल्यो ? कीर्ते विद्यार्थी राख्यो भन्ने अप्रमाणित हो । सरकारी गाडी बोकेर कम्पाउन्डभित्र छिरेर परीक्षा दिएको मान्छेलाई कीर्ते गर्‍यो भन्दा कति चित्त दुखेको होला ?

– चारवटा परीक्षा कस्तो भएको थियो ? पास हुने गरी लेख्नुभएको थियो कि थिएन ?

दुईवटा परीक्षामा त पास हुन्छुजस्तो लागेको थियो । तर, दुईवटामा चाहीँ अलिकति धुकचुक नै थियो । हिजो अंग्रेजी विषयको परीक्षा अलिकति बिग्रियो ।

– अब अरु परीक्षा दिनुहुन्छ कि दिनुहुन्न ?

आज परीक्षा छैन । अब दुईवटा परीक्षा बाँकी छन् । तर, मैले सुनेसम्म अरु परीक्षा पनि दिन नपाउने निर्णय भएको छ रे । त्यसैले म अब जान्न ।

– भनेपछि कारबाहीलाई सहजरूपमा स्वीकार गर्नुभएको हो ?

यो षड्यन्त्रपूर्वक गरिएको छ । कसरी हुन्छ, अब राजनीतिक हिसाबले कमजोर बनाउने, व्यक्तिगतरूपमा पनि सिध्याउने प्लानमा हुनुहुन्थ्यो । उहाँहरूको तर्फबाट पनि निर्णय गर्ने अवस्थामा पुग्नुभयो होला । मलाई आधिकारीक जानकारी आएको छैन । रद्द भएको थाहा नभएर हिजो पनि परीक्षा दिन गएँ । दिउँसो थाहा भयो । रद्दै भएपछि किन परीक्षा दिन जाने भन्ने सोचमा पुगेको हुँ । के जबर्जस्ती गर्नु ।

– तपाईं कुनै कानूनी प्रक्रियामा नजाने त्यसोभए ?

यस्तो हो, म एउटा सामान्य मान्छे भएको भए जान्थेँ होला । तर, एउटा जिम्मेवार ठाउँमा भएको कारणले गर्दा … मेरो सिम्बोल नम्बर नै डबल भेटिएको भनिएपछि म कसरी कानूनीरूपमा जाने ?

– गाउँपालिका अध्यक्षजस्तो जिम्मेवार व्यक्तिमाथि यति गम्भीर आरोप लागेपछि तपाईंको सामाजिक प्रतिष्ठा त धुलिसात हुने भयो नि ?

षड्यन्त्र गर्ने मान्छे पत्ता लगाउँदैछु म । आज पनि केही साथीहरूलाई छलफलमा बोलाएको छु । मान्छे पत्ता लगाउनेवित्तिकै व्यक्ति किटेर…. अब पुष्टि नभइकन जाने कुरा हुँदैन, परीक्षा बोर्डलाई मुद्दा हाल्ने कुरा हुँदैन । जुन मान्छेले षड्यन्त्र गरेको छ, त्यसको खोजी गरिरहेको छु । पत्ता लगाउने नजिक-नजिक पनि पुगेको छु । आज छलफल गरेर एउटा खालको निर्क्यौल गर्ने तयारीमा छु ।

– यो वर्ष परीक्षा दिन नपाएपछि अब पढाइ छोडिदिनुहुन्छ कि के गर्नुहुन्छ ?

पढाइ किन छोड्ने ? हिजो जनयुद्धमा ४ कक्षा पढेर छोडेर जनयुद्धमा गएको मान्छे । त्यसपछि फर्केर निरन्तर पढाइ अगाडि बढाएँ । छोड्ने कुरा हुँदैन । मलाई चुनावमा पनि अनपढ, जंगली भनेर प्रचार गरे । उनीहरूलाई जवाफ दिनका लागि पनि मैले पढ्नै पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर