गर्विलो इतिहास बोकेको विद्यार्थी आन्दोलन र साख जोगाउने लयमा अनेरास्ववियु – Nepal Press
सन्दर्भ : अनेरास्ववियुको ५९औं स्थापना दिवस

गर्विलो इतिहास बोकेको विद्यार्थी आन्दोलन र साख जोगाउने लयमा अनेरास्ववियु

भनिन्छ, हजारौँ माइलको यात्रा पहिलो पाइलाबाट आरम्भ हुन्छ। १९९१मा भारतको बनारसमा अध्ययन गर्ने केहि विद्यार्थीले ‘नेपाली छात्र संघ’ को गठन गर्नु नै विद्यार्थी आन्दोलनको पहिलो पाइलो थियो । त्यसपछि २००१ तिर कलकत्तामा अध्ययनरत केहि विद्यार्थीले ‘हिमान्चल विद्यार्थी संघ’को स्थापना गरेर अर्के पाइला अघि सारे ।

देश बाहिरका नेपाली विद्यार्थी प्रजातन्त्रको माग गर्दै संगठित हुँदै गर्दा मुलुक भित्र ‘अखिल नेपाल विद्यार्थी फेडेरेशन’ स्थापना गरेर विद्यार्थीहरूले जहानियाँ राणा शासन विरुद्धको क्रान्तिमा इट्टा थपे ।

१०४ बर्से राणा शासन अन्त्यको लागि राजनैतिक दलको भूमिका बारे हामीले विमर्श गरिरहेका बेला विद्यार्थी आन्दोलनको राप तापलाई भने भुल्न सक्दैनौँ ।

२००६ साल असार १७ गते भूमिगतरुपमा प्रचण्ड राज सिंहको नेतृत्वमा अखिल नेपाल विद्यार्थी फेडरेसन गठन भयो । नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा यो नै पहिलो संगठन बन्यो । त्यसपछि विस २०१३ सालमा अनेबिफे र उपत्यकामा क्रियाशील अन्तर कलेज विद्यार्थी युनियन बिच एकता भई नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन नामकरण गरियो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बि।स २०२० भदौ २० गते स्ववियु निर्वाचन सम्पन्न भयो र स्ववियुकै आयोजनामा २०२१ वैशाख २५–२९ मा अन्तर कलेज विद्यार्थी सम्मेलन भयो।उक्त सम्मेलनको सफलताको जगबाट नै विस २०२२ जेठ १ गते ९ कक्षामा अध्ययनरत सुजन खरेलको संयोजकत्वमा अनेरास्ववियुको स्थापना भयो । संगठनको नाम भने २०२५ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट राखिएको थियो ।

अनेरास्ववियुको स्थापना हुँदा खास गरी पञ्चायती व्यवस्थाको विरुद्धमा सशक्त आन्दोलन गर्ने, राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा वकालत गर्ने, साथै शैक्षिक प्रणामी सुधारका एजेन्डाहरू अघि सारेर संघर्ष गर्नु थियो । ती मुद्दाहरुमा अनेरास्ववियुले सफलता हासिल गरेको गौरवमय इतिहास छ । २०२२ ज्येष्ठ १ देखी सुरु भएको विद्यार्थीको आन्दोलन आज पनि उत्तिकै सशक्त र ऊर्जावान् छ । राणा शासन, पञ्चायती शासन र राजतन्त्रको अन्त्यमा होस् या सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि होस् अनेरास्ववियुको भूमिका आज पनि स्मरणयोग्य छ ।

सुस्ता, महेशपुर मानेभञ्याङ्ग, मेची, पशुपतिनगर, कालापानी,लिपुलेक लगायत देशका विभिन्न ठाउँमा भारतबाट गरिएको सिमा अतिक्रमणको विरोध गर्दै देश रक्षाको लागि अनेरास्ववियुले गरेको गतिविधि पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।

विद्यार्थीको हक अधिकार प्राप्त गर्ने उद्देश्यले अनेरास्ववियु स्थापना गरिएको भएपनि अहिले अनेरास्ववियुले विद्यार्थीहरूको हक अधिकार मात्रै होइन राष्ट्रियता, स्वाधीनता, नेपाली जनताको समस्या, मूल्यवृद्धि, भारतीय पक्षको दादागिरी लगायतका विषयमा पनि बुलन्द आवाज उठाउँदै आइरहेको छ ।

संविधानमा व्यवस्था भएबमोजिम आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र विश्वविद्यालय तहको शिक्षामा सबैको पहुँच हुनुपर्ने अडान अनेरास्ववियुले राख्दै आइरहेको छ ।

अनेरास्ववियु नेकपा (एमाले) निकट विद्यार्थी संगठन हो। योसँगै एउटा साझा, स्वतन्त्र र जनवादी विद्यार्थी सङ्गठनका रूपमा आम विद्यार्थीले अनेरास्ववियुलाई लिइरहेका छन् ।

राष्ट्रियता, प्रजातन्त्र र जनअधिकारका पक्षमा वकालत गरिरहेको अनेरास्ववियु कहिल्यै थाक्दैन । जबसम्म काम फत्ते हुँदैन, तबसम्म गन्तव्य प्राप्तिका लागि निरन्तर लागिरहन्छ । केही नयाँ काम गर्नका लागि हामी महान् हुन आवश्यक छैन। तर महान् हुनका लागि हामीले केहि नयाँ कामको थालनी गर्न जरुरी छ। यही सिद्धान्त अङ्गालेका देशभरिका हजारौँ लाखौँ अनेरास्ववियुका नेता कार्यकर्ताहरू अझै पनि देश निर्माणको चरणमा लागिरहेका छन् ।

उनीहरूको अठोट, बिचार, विद्रोह र बलिदानी का कारण विद्यार्थी आन्दोलनका सवालमा अनेरास्ववियु अग्रपंक्तिमा छ ।

अनेरास्ववियुले राजनीतिक परिवर्तनको आन्दोलन , शैक्षिक सुधारका लागि पहलकदमी सँगसँगै नेतृत्व क्षमताको विकास गरी देशका निम्ति दक्ष ,सक्षम र क्षमतावान् नेतृत्व उत्पादनमा पनि अहम् भूमिका निर्वाह गरेको छ ।

मुलुकमा अहिले सर्वाधिक रुचाइएको पार्टी नेकपा एमाले हो । एमालेको जग अनेरास्ववियु हो । पार्टीको सिद्धान्त विचार र मार्ग दर्शन विद्यार्थीकाल देखी नै सिक्दै आएको हुँदा अनेरास्ववियुबाट उदाएका नेताहरूले पार्टी मात्रै होइन देश विकासमा पनि ठुलो योगदान दिएका छन् ।

अनेरास्ववियुको स्थापनाकालीन पहिलो दशकका विश्वकान्त मैनाली, गोविन्दमान श्रेष्ठ , मुकुन्द श्रेष्ठ , टंक कार्की यही बाट स्थापित भएका हुन । पार्टी महासचिव क शकर पोखरेल, सचिव क योगेश भट्ट्याई जस्ता नेताहरू पनि यही भट्टीबाट खारिएका हुन ।

यसका साथै पार्टीको केन्द्रीय कमिटीमा पनि अनेरास्ववियुबाट उत्पादित नेताहरूको जबरजस्त उपस्थिति छ । जसमध्ये हिक्मत कार्की , खिमलाल भट्टराई, ठाकुर गैरे, माधव ढुंगेल, किशोर विक्रम मल्ल , नबिना लामा ,ऐन महर र सुनिता बराल जस्ता आसलाग्दा नेताहरू हुन जसले पछिल्लो दशकमा अनेरास्ववियुको कुशलतापूर्वक नेतृत्व गरेका थिए ।

स्व नेता रवीन्द्र अधिकारी आज हामी सामु नभएता पनि उनले अनेरास्ववियुमा गरेको योगदान र उनको नेतृत्वमा भएको परिचय पत्रको आधारमा ४५% यातायातमा प्राप्त सहुलियतका माध्यम बाट आम विद्यार्थीले स्मरण र सम्मान गरिरहने छन् ।

देशको सबैभन्दा ठूलो विद्यार्थी संगठन भएको हुँदा हाम्रो काँधमा सबै विद्यार्थीहरूको समस्या समाधान गर्ने र उनीहरूका विषयमा गम्भीर बन्ने जिम्मेवारी छ । इतिहासमा गर्व गर्ने मात्र होइन भावी पुस्ताले पनि गर्व गर्ने संगठन बनाउनु हाम्रो आजको दायित्व हो ।

आज विद्यार्थी राजनीतिको सान्दर्भिकतामाथि अनेकौँ प्रश्नहरू उठिरहेछन् ।

विद्यार्थी सङ्गठनहरूले आफ्नो प्राथमिकताका विषयहरू छुट्टाउन सकेनन्, पार्टीका नेता रुझाउने र आफ्नो भविष्य सुरक्षित गर्नेतर्फ लागिरहेका छन् भनेर टीकाटिप्पणी समेत गर्ने गरेका छन्। यस्ता टिका टिप्पणीको जवाफ हामीले हाम्रा एजेन्डा र कार्यशैली बाट दिनुपर्दछ ।

अर्का कुरा, आज पनि शिक्षाको नाममा व्यापार भइरहेको छ । जसले गर्दा सरकारी शैक्षिक संस्थाको नतिजा निराशाजनक आउने र सार्वजनिक संस्थाहरू डुब्ने अवस्थामा पुगेका छन् यस्तो बेला विद्यार्थी नेताहरूले सकारात्मक भूमिका खेल्नुको साटो विद्यार्थी नेताहरू नै निजी शिक्षण संस्थामा लगानी गरेर स्वीकृति दिलाउन तर्फ लाग्ने, स्वीकृति दिलाउन सहयोग गरेर कमिसन लिने, आफ्ना मान्छे भर्नाका लागि दबाब दिने जस्ता आरोप विद्यार्थी नेताहरूलाई लाग्ने गर्दछ। यो आरोप चिर्न अनेरास्ववियुले भूमिका खेल्नुपर्ने छ । गरिब र निमुखा वर्गको पहुँचमा गुणस्तरीय शिक्षा पुराउने हाम्रो पहिलो जिम्मेवारी हो । त्यसका लागि हामी लाग्नु पर्छ ।

नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादका अनुयायी हौँ हामी । आगामी दिनमा अनेरास्ववियुले बौद्धिक तथा सीपयुक्त मानव संसाधन उत्पादनका निम्ति अभियान चलाउनेछ । अनेरास्ववियुका सबै नेता कार्याकर्ताहरुसँग आफ्नै प्रकारको मौलिक दृष्टिकोण र योजनाहरू छन् । ती दृष्टिकोण र योजनाहरूलाई आम विद्यार्थी सम्म पुराउने अभियानमा हामी लाग्ने छौँ ।

स्ववियु निर्वाचनको परिणामले हामीलाई थप जिम्मेवारी बोध गराएको छ । राष्ट्र हितको विपक्षमा रहेका सबै शक्तिहरू मिल्दा पनि हामी सर्वाधिक मत सहित पहिलो स्थानमा आयौँ । ‘मिनी पार्लियामेन्ट्री इलेक्सन’को रूपमा परिभाषित स्ववियु निर्वाचनमा हामीले देशैभरका उल्लेख्य क्याम्पसहरूमा विजय गर्नु भनेको नेतृत्वको कार्यशैली, रणनीति र विद्यार्थीको अनेरास्ववियु प्रतिको आस्था प्रमुख कारक हो भन्नेमा दुई मत छैन ।

नेकपा (एमाले) को मार्गदर्शक, सिद्धान्त र विकासको दृष्टिकोण हामीले अझै तल्लो तह सम्म पुर्‍याउनु पर्ने देखिन्छ । त्यस बाहेक समयसापेक्ष दृष्टिकोणसहितको प्रतिबद्धता, प्रतिबद्धताअनुसारको कार्यान्वयन आजको आवश्यकता हो । नेपालका करिब ४० लाख युवाहरू विश्व बजारमा श्रम बेचिरहेका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्क अनुसार नेपालको वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको छ । यो गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा २६.१५ प्रतिशत धेरै हो ।

यसले हामीलाई दिन दुई गुणा–रात चार गुणा परनिर्भर बनाउँदै लगेको छ । सस्तो श्रम बेच्ने र महँगो वस्तु किन्ने यो प्रक्रियाले देशमा निम्त्याउने कंगालीकरण मात्र हो ।

मुलुक सङ्घीयतामा गइसकेपछि त्यही अनुरूपको शैक्षिक मोडालिटी बनाउनु पर्छ । तब मात्रै शिक्षा उत्पादनशील हुन्छ । जस्तो कि मदेश प्रदेश तराइमा अवस्थित छ । जुन क्षेत्र कृषिको उर्वर भूमि हो । कृषि उत्पादनका दृष्टिकोणले अत्यन्तै राम्रो मानिने त्यस प्रदेशका लागि सबैको पहुँचमा पुग्ने गरी कृषि विश्वविध्यालयको अवधारणा अपनाउनु पर्छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा पर्यटन जलविद्युत र जडीबुटीको ठुलो सम्भावना छ । नदीमा बगिरहेको पानीबाट विद्युत् उत्पादन गर्न सक्ने ऊर्जा विज्ञान र जङ्गलमा सडिरहेका बहुमूल्य जडीबुटीको पहिचान र प्रशोधन गर्न सक्ने शिक्षालाई त्यस क्षेत्रका क्याम्पसहरूमा प्राथमिकिकरण गराउने र क्षेत्रगत आवश्यकताको आधारमा विश्वविध्यालयका कोर्सहरू डिजाइन हुन आवश्यक छन् । त्यसलाई लागु गराउन अनेरास्ववियुले पहलकदमी लिनुपर्दछ । यस विषयमा सरकारलाई पनि गम्भीर हुन हामी अपिल गर्दछौ ।

(बम एमाले समर्थित अनेरास्ववियुका स्थायी कमिटी सदस्य हुन्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *