पेट्रोल तस्करमा आयल नियमको कडा कारबाही : चालकलाई सधैँका लागि बन्देज, मालिकलाई के ?


रुपन्देही । पेट्रोल तस्कर गरेको आरोपमा पक्राउ परेका ट्याङ्कर चालकलाई नेपाल आयल निगमले कडा कारबाही गर्दै सधैँका लागि यो पेशामा बन्देज लगाएको छ ।
बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने लु २ ख ४८३९ नम्बरको चालक पेट्रोल ल्याएर तस्करी गरेर ल्याएको भन्दै वैशाख ८ गते पक्राउ परेका थिए ।
२० किलो लिटरभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरेको पुष्टि भएपछि निगमले कारबाही गरेको आइतबार निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लकिङ प्रणाली जडान भएकै ट्याङ्करबाट वैशाख ८ गते इन्धन तस्करी भएको पुष्टिपछि पेट्रोलियम पदार्थको ढुवानी विनियमावली २०७३ (तेस्रो संशोधनसहित) गरी कारबाही गरिएको हो ।
निगमले जारी गरेको विज्ञप्तिमा ‘चालकलाई निगमको सम्पूर्ण डिपोहरूमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सधैँका लागि बन्देज लगाउने निर्णय गरिएको, ‘ट्यांकर/ट्रकको ढुवानी भाडासमेत रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्ने निर्णय गरिएको र विनियमावली अनुसार ३ महिनाको लागि निलम्बन गर्ने निर्णय भएको जनाइएको छ ।
भैरहवा भन्सार नाकाबाट भन्सार पासको क्रममा शंका लागेपछि प्रहरी र भन्सार कार्यालयले ट्यांकरलाई नियन्त्रणमा लिएका थिए । निगमको कर्मचारीसहित भलवारी डिपोमा ट्याङ्कर जाँच गर्दा स्वीकृत पीडीओ २० किलो लिटरभन्दा बढी पेट्रोल भेटिएको थियो ।
स्वीकृत कोटाभन्दा ३ हजार ३ सय ८३ लिटर बढी देखिएको थियो । त्यसपश्चात् प्रहरी, भन्सार र निगमका कर्मचारीसहित मुचुल्का बनाएर ट्याङ्कर नियन्त्रणमा राखिएको थियो ।
उक्त ट्याङ्कर बुटवलका व्यवसायी चोपनारायण श्रेष्ठको नाममा रहेको एक्सप्रेस परिवहन सेवा प्रालिको हो । उनी पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघका वरिष्ठ सल्लाहकार तथा संघको पूर्वअध्यक्ष हुन् । यसअघि पनि यो विषयमा उनी विवादमा परेकाले अहिले पनि चालकलाई कारबाहीमा पारेर मालिकलाई उम्काउने धन्दा सुरु भएको भन्दै आलोचना हुन थालेको छ ।
आयल निगमको कानुन अनुसार यसमा चालकको मात्र दोष देखिएपनि भन्सार छलीको विषयमा चालकलाई मात्र नभएर सञ्चालकलाई कारबाही हुनुपर्ने व्यवसायीहरूले नै दबाब दिने योजनामा छन् ।
आयल निगम भलबारी तथा रुपन्देही प्रशासन र भन्सार कार्यालयलाई यो विषयमा गम्भीर रहन र एक जना व्यवसायीका कारण अन्य व्यवसायीहरूले समेत चोरीको आरोप खेप्नुपरेकाले उनलाई आवश्यक कारबाही हुनुपर्ने र आगामी दिनमा यस्तो काम गर्न निरुत्साहित गराउनुपर्ने व्यवसायीको माग छ ।
नेपालभन्दा भारततिर इन्धन सस्तोमा पाइने भएका कारण अहिले यहाँबाट यसको तस्करी बढेको छ । सीमा क्षेत्रका व्यवसायी तथा सवारीधनीहरु पनि तेलका लागि भारत नै पुग्न थालेपछि अहिले यसबाट हुने भन्सारको पनि उसै गरी घाटा भइरहेको छ ।
पश्चिमाञ्चल डिर एशोसियसनका अध्यक्ष हिमाल गैरेले आयल नियमले बढी मुनाफा राखेकै कारण यहाँको भन्दा भारतमा मूल्य कम भएकाले समस्या भएको बताउँछन् । आयल निगम भलबारीका प्रमुख दिनेशचन्द्र यादवले मूल्य समायोजनको काम केन्द्रबाट नै हुने बताउँछन् ।