छिन्नभिन्न वैकल्पिक पार्टीहरु मिलाएर प्रगतिशील–लोकतान्त्रिक मोर्चा घोषणाको तयारी


रुपन्देही । नेपाली कांंग्रेस, कम्युनिस्ट पार्टी र मधेसवादी दलहरुको विकल्प भन्दै सत्तरीको दशकयता उदाएका एक दर्जनभन्दा बढी नयाँ वैकल्पिक राजनैतिक दलहरुको बीचमा प्रगतिशील–लोकतान्त्रिक मोर्चा घोषणा हुने भएको छ । जेठ १ गते काठमाडाैंमा यस्तो घोषणाको तयारी गरिएको हो ।
तत्कालीन नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी, विवेकशील नेपाली पार्टी, राष्ट्रिय संकल्प अभियान नेपाल, नागरिक उन्मुक्ति पार्टीको विद्रोही समूह, राष्ट्रिय मुक्ति आन्दोलन नेपाललगायतका पार्टी, समूह, अभियानको बीचमा सहकार्य, कार्यगत एकता र संयुक्त मोर्चा हुँदै आगामी फागुन पहिलो हप्ताभित्र एउटा नयाँ वैकल्पिक राजनैतिक दलको घोषणा गर्ने तयारी स्वरुप मोर्चा बनाइएको दावी गरिएको छ ।
गत निर्वाचनको दौरानमा उदय भएका नयाँ भनिएका राजनैतिक दलहरु कुनै नयाँ नभएर नयाँ कलेबरमा परम्परागत राजनैतिक दलहरुकै थप भद्दा संस्करण भएकोले प्रगतिशील लोकतान्त्रिक मोर्चाको माध्यमबाट देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सबालहरुमा देशैभरी आन्दोलन गर्ने र निकट भबिश्यमै नयाँ राजनैतिक दल घोषणाका लागि जनताको म्याण्डेट लिने उद्देश्य रहेको वैकल्पिक राजनीति पुनःगठन अभियान नेपालका केन्द्रीय कार्यदलका सदस्य प्रशान्त सिंहले बताए ।
यसका लागि वैकल्पिक राजनीतिका प्रमुख भाष्यकार डम्बर खतिवडा, केशव दाहाल, समीक्षा बास्कोटा, रन्जु दर्शना, मिलन पाण्डे, मुमाराम खनाल, हेमराज भण्डारी, डा. जेबि शाह, बुद्ध छिरिङ, सुरेन्द्र चौधरी, अजिता राईलगायतले सक्रिय पहल लिइरहेको अभियान्ता नारायण खनालले जानकारी दिए ।
जेठ १ गतेका दिन काठमाडौंमा पत्रकार सम्मेलनमार्फत प्रगतिशील लोकतान्त्रिक मोर्चाले मोर्चाको संरचना, त्यसको भाबी नीति तथा कार्यक्रमसँगै संघर्षको स्बरुपसमेत स्पष्ट गर्ने जानकारी उनले दिएका छन् ।
प्रगतिशील लोकतान्त्रिक मोर्चाले देशको संसद,सरकार र प्रतिपक्ष बेन्चमा समेत नयाँ वैकल्पिक राजनैतिक शक्ति नभएसम्म देशको मुहारमा कुनै परिवर्तन नआउने विश्वास लिएको वैकल्पिक राजनीति पुनःगठन अभियानका केन्द्रीय कार्यदलका सदस्य ठाकुर पोख्रेलले बताए ।
प्रगतिशील लोकतान्त्रिक मोर्चाको न्युनतम साझा नीति तथा कार्यक्रम र प्रेस बिज्ञप्ती लेखनको जिम्मेवारी डम्बर खतिवडा र केशव दाहालले पूरा गरेको र त्यसमा सबै दल, घटक, समूह र अभियानको सहमति भइसकेको वैकल्पिक राजनीति पुनःगठन अभियानका केन्द्रीय कार्यदलका सदस्य नारायण खनालले जानकारी दिए ।
महन्त ठाकुरले नेतृत्व गरेको लोसपा, उपेन्द्र यादवले नेतृत्व गरेको जसपा र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपा जस्ता शक्तिहरुले नयाँ र वैकल्पिक राजनीतिको मौलिक पहिचान समात्न पारिसकेकाले ती दलभित्र रहेको ठूलो हिस्सा प्रगतिशील लोकतान्त्रिक मोर्चामा सामेल हुने बिश्बास गरिएको मधेशका राजनैतिक बिश्लेषक केशब झाले दावी गरेका छन् ।