बालुवाटार बैठकमा मिसिए दोस्रो तहका नेता


काठमाडौं । प्रमुख दलका शीर्ष तीन नेताहरुबीचको बालुवाटार बैठकमा प्रमुख सचेतकहरू पनि मिसिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा तीनै दलका प्रमुख सचेतकहरू पनि पुगेका हुन्।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका हितराज पाण्डे थपिएका हुन् ।
बैठकमा संसदको प्रभावकारिता, आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा केन्द्रित छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिँदो छ। यसअघि पनि तीन दलका शीर्ष नेताहरुबीच पटक पटक भेटवार्ता भएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायत दर्जन बढी पक्राउ परिसकेका छन् । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन् ।