नक्कली भुटानी शरणार्थी प्रकरण: अब १३ दिनभित्र अदालतमा मुद्दा दर्ता हुनुपर्ने – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरण: अब १३ दिनभित्र अदालतमा मुद्दा दर्ता हुनुपर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान निष्कर्षमा पुर्‍याउन जनदबाब बढिरहेको छ । ठूला राजनीतिक दल शीर्ष नेताहरुको दौडधुपका कारण अझै पनि जनता आश्वस्त हुन सकिरहेका छैनन् ।

प्रहरीले यो प्रकरणमा अब बढीमा १३ दिनभित्र अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोगपत्र दर्ता गरिसक्नुपर्ने छ । यसका लागि अबको १०-११ दिनभित्र प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिललाई बुझाउनुपर्ने छ ।

प्रतिवेदनको अध्ययन गरेर सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार गर्नेछ र अदालतमा दर्ता गर्नेछ ।

यो प्रकरणमा संलग्न थप व्यक्तिहरुको पहिचान गर्न र अनुसन्धानलाई पूर्ण बनाउन यतिबेला केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)देखि प्रहरी प्रधान कार्यालयका अनुसन्धान अधिकारीहरुसम्म आएर सघाइरहेका छन् । पक्राउ परेका व्यक्तिहरुका बयान, उनीहरुका मोबाइलमा भेटिएका कुराकानी, पैसा बुझेका प्रमाणहरुका आधारमा अुनसन्धान अधिकारीले ‘जालो’ हेरिरहेका छन् ।

पक्राउ नपरेकाहरूलाई पनि फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गर्न सकिनेछ । त्यसपछि उनीहरु सोझै अदालतमा उपस्थित हुन सक्नेछन् । त्यसअघि यो प्रकरणमा प्रहरीले क-कसको संलग्नता खुलाउँछ भन्ने आमचासो बढ्दो छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जुको पनि संलग्नता रहेको भनेर चर्चा भइरहे पनि प्रहरीले ठोस प्रमाण भेट्न सकेको छैन ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले चैत १२ गते तीन जना बिचौलियालाई पक्राउ गरेपछि यसको अनुसन्धान औपचारिक रुपमा सुरु भएको थियो । ठगी मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरीले संगठित रुपमा अपराध भएको भन्दै संगठित अपराधमा पछि म्याद लिएको थियो । संगठित अपराधमा हिरासतमा राखेको ६० दिनभित्र अदालतमा अभियोगपत्र दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *