सरकारसँग असन्तुष्ट बालेन प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन्


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न सिंहदरवारस्थित आफ्नै कार्यालयमा एउटा महत्वपूर्ण छलफल डाके । संघीय सरकारका पाँच मन्त्रीसहितको सो बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भने अनुपस्थित बनेका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार आजको बैठकमा काठमाडौं महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई निम्त्याइएको थियो । तर, प्रशासकीय अधिकृतमात्र उपस्थित भएको उनले जानकारी दिए ।
‘के कति कारणले हो काठमाडौंका मेयर उपस्थित हुनुभएन,’ उनले भने ।
मेयर बालेन केही समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् । महानगरका कामहरुमा संघीय सरकारले सहयोग र समन्वय नगरेको उनको गुनासो छ । यही असन्तुष्टिवश उनी आजको बैठकमा अनुपस्थित बनेको हुनसक्ने अनुमान गरिएको छ ।
महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भने बैठकमा महानगर प्रमुखलाई निम्तो नै नभएको दाबी गरे । ‘निम्तो नआएर नै नजानुभएको हो, अरु कारण छैन’, उनले भने ।
प्रधानमन्त्रीले बोलाएको बैठकमा संघीय सरकारका पाँचजना मन्त्रीहरुको उपस्थिति थियो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र शहरी विकासमन्त्री सीता गुरूङले बैठकमा भाग लिएका थिए ।
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, नुवाकोटका संघीय सांसदहरू हितबहादुर तामाङ, विमला सुवेदी, ललितपुर महानगरका प्रमुख चिरीबाबु श्रेष्ठ, नेपाल सरकारका सचिवहरू, उपत्यकाका नगर प्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतहरूलगायत सरोकार पक्षका प्रतिनिधिहरू पनि उपस्थित थिए ।
बैठकमा सिसडोल र त्यस आसपासका सरोकारवाला जनताका अगुवाहरुलाई पनि राखिएको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका थिए ।
शहरको सौन्दर्य र स्वस्थ जीवनका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण भएको भन्दै उनले सरकार राजनीतिक क्षेत्रमा देखिएको फोहोरसमेत व्यवस्थापन र निर्मूल पार्न तल्लीन रहेको उल्लेख गरे ।
प्रचण्डले भने, ‘हामी फोहोर व्यवस्थापनको छलफलमा छौं । उपत्यकाको मात्र नभएर देशभरिको फोहोर व्यवस्थापन गर्ने कुरा हाम्रो प्राथमिकतामा छ । यो फोहोरको कुरा त छँदैछ, राजनीतिमा देखिएको फोहोर व्यवस्थापन र निर्मूल गर्नसमेत सरकार अगाडि बढेको छ ।’
प्रधानमन्त्रीले सम्बन्धित समितिहरूको बैठक बसेर १० दिनभित्र फेरि अर्को बैठक बस्ने जानकारी दिएका छन् ।