गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू – Nepal Press

गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

रुपन्देही । गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले शुक्रबारबाट नियमित उडान थालेको हो ।

निगमको जहाजले दुई हप्ता अगाडि गरेको परीक्षण उडान सफल भएपछि शुक्रबारबाट नियमित उडान थालेको हो । निगम र रेसुङ्गा नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको छ ।

शुक्रबार बिहान ६ः३० बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः१५ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ ।

पहिलो व्यवसायिक उडानमा १४ यात्रु बोकेर रेसुङ्गा विमानस्थलमा अवतरण भएको यो जहाजले फर्किँदा पनि १४ यात्रु लिएर फर्किएको थियो । पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु छ हजार तीन सय भाडादर कायम गरिएको छ ।

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो ।

विमानस्थल कूल रु ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो । विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

पहिलो उडानमा यात्रुका रुपमा आएका रेसुङ्गा नगरपालिका-१ का अखिलेश्वर पाण्डे र गुल्मीदरबार गाउँपालिका–२ की पार्वती भुजेलले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाउदा खुसी लागेको बताए । हवाई सेवाले गुल्मी र राजधानीलाई नजिक बनाएको अनूभूति आफूले गरेको उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *