जनकपुरधाममा भानुभक्त आचार्यकै सालिक बनाउन मेयरलाई ज्ञापन – Nepal Press

जनकपुरधाममा भानुभक्त आचार्यकै सालिक बनाउन मेयरलाई ज्ञापन

जनकपुरधाम । जनकपुरधामस्थित साविकको भानु चोकमा भानुभक्त आचार्यकै सालिक निर्माण गर्न जानकी मन्दिर र हिन्दूवादी संगठनहरुले माग गरेका छन् ।

आज जनकपुरधामका मेयर मनोजकुमार साहलाई जानकी मन्दिरका सहायक महन्थ रोशन दास ‘वैष्णव’ र आधा दर्जन हिन्दूवादी संगठनका प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाउँदै भानुभक्त आचार्यको सालिक अविलम्ब निर्माण गर्न माग गरेका हुन् ।

रामायणको धार्मिक अध्यात्मिक तथ्यलाई घरघरसम्म पुर्‍याउने आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण कार्यमा अवरोध गर्ने हिन्दूविरोधी रहेको मेयर साहलाई बुझाइएको ज्ञापनपत्रमा आरोप लगाइएको छ ।

सालिक पुनर्निर्माण कार्यमा अवरोध गर्ने तत्वहरुलाई कानूनी दायरामा ल्याउनसमेत माग गरिएको छ । माता सीताको महिमालाई मौलिक भाषाको माध्यमबाट प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिनेप्रति असम्मानजनक क्रियाकलापले आहतमा परेको भन्दै जनमानसको भावनालाई बुझी यथाशीघ्र भानुभक्त आचार्यको सालिक निर्माण गर्न मेयर साहलाई ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मेयर साहले चाँडै सालिक निर्माण कार्य अगाडि बढाइने प्रतिबद्धता जनाएका छन् । उनले सालिक निर्माण स्थगित भएको हल्लाको पछाडि नलाग्न हिन्दूवादी संगठनका प्रतिनिधिहरुसँग आग्रहसमेत गरे ।

२०६३ साल अगाडि साविकको भानु चोकमा भानुभक्त आचार्यको सालिक थियो । तर, मधेश आन्दोलनका बेला आन्दोलनकारीहरुले उक्त सालिक भत्काएर चोकको नाम ‘सहिद रमेश महतो चोक’ नामकरण गरेका थिए ।

२०७४ मा पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा जनकपुरधामको मेयरमा तत्कालीन राजपाबाट लालकिशोर साह निर्वाचित भए । उनले ५ वर्षसम्म उक्त चोकमा न रमेश महतोको सालिक बनाए न त भानुभक्त आचार्यको ।

अहिलेका मेयर साह स्वतन्त्रबाट निर्वाचित भएका हुन् । उनी कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बने र निर्वाचन पनि जिते । अहिले पुनः कांग्रेसमै फर्किसकेका उनी त्यहाँ भानुभक्त आचार्यको सालिक बनाउन लागेपछि विवाद भएको छ ।

मधेश केन्द्रित दलहरुको विद्यार्थी र युवा संगठनले चोकको नामसमेत ‘सहिद रमेश महतो चोक’ नामकरण गरिसकेकाले भानुभक्त आचार्यको सालिक बनाउन नदिने उद्घोष गरेका छन् । उनीहरुको अवरोधका बाबजुद मेयर साहले भानुभक्त आचार्यको सालिक बनाउने भन्दै शिलान्यास गरिसकेका छन् । तर, आन्दोलन चर्किएपछि मेयर साह सालिक निर्माण गर्नबाट पछाडि हटे ।

अहिले भानुभक्त आचार्यकै सालिक निर्माणलाई निरन्तरता दिन दबाब बढेपछि उनी पनि दोधारमा परेका छन् ।


प्रतिक्रिया

One thought on “जनकपुरधाममा भानुभक्त आचार्यकै सालिक बनाउन मेयरलाई ज्ञापन

  1. Hamro Nepal ko sahitya lai sansar bhari chinaune Laxmi Prasad Devkota ko Salik kaliya ma punsthapana hunu parxa ra Birgunj buspark ko Bhanu chowk ko Salik pani pheri bannu parxa.. Nepali sarjag lai samman gare matra Nepal Bachchha..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर