नेकपा एसले भन्यो- एकपछि अर्को रहस्य आउँदैछन्, नाजायज प्रभाव पार्ने ‘दौडधुप’ नहोस्


काठमाडौैं । नेकपा एकीकृत समाजवादी पार्टीले नक्कली शरणार्थी प्रकरणमा छानबिनको दायरा बढ्दै जाँदो अनुसन्धानलाई नाजायज प्रभाव पार्ने ‘दौडधुप’ पनि भइरहेकोप्रति आपत्ति जनाएको छ ।
बुधबार बसेको नेकपा एसको केन्द्रीय सचिवालयको यो आर्थिक अनियमिता मात्रै नभएर मानव तस्करी र देशघातीसमेत हो भन्ने छर्लङ्ग भएको निष्कर्ष निकालेको छ ।
बैठकपछि महासचिव घनश्याम भुसालले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि सरकारले कारवाहीको प्रक्रिया शुरु गरेको छ । अहिले त्यस काण्डका एकपछि अर्को रहस्य सतहमा आउँदै छन् । उच्च तहका राजनीतिक र प्रशासनिक अधिकारीहरु यसको घेरामा पर्दै गएका छन् । घटनाको प्रकृतिले यो आर्थिक अनियमिता मात्रै नभएर मानव तस्करी र देशघातीसमेत हो भन्ने छर्लङ्ग छ ।’
भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा प्रभावकारी कानूनी तथा प्रशासनिक कारवाही नहुँदा लोकतन्त्र र न्याय कमजोर हुँदै जाने उल्लेख गरेका छन् ।
‘विगतमा यस्ता कैयन् घटनाहरु स्थार्थ समूहका दबाबका कारणले ढाकछोप भएका छन् । तसर्थ, कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नजाओस् र सबै दोषीहरुमाथि कार्यवाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ’ उनले भनेका छन् ।
दबाइएका अन्य घटनाहरुमा पनि यसैगरी छानबिन अगाडि बढाउनसमेत सरकारसँग माग गरेको छ । आम जनसमुदाय, राजनीतिक दल, सामाजिक संघ संस्था तथा सञ्चार माध्यमहरुलाई समेत यसको अनुसन्धान र कार्यवाही प्रक्रियालाई सतर्कतापूर्वक हेर्न र निष्पक्ष अनुसन्धान र पारदर्शी कानूनी कार्यबाहीका लागि आवश्यक दबाब सिर्जना गर्न आह्वान गरेको छ ।
यो काण्डका विरुद्ध उभिन र क्रियाशील हुन पार्टी पङ्ति तथा जनसङ्गठनहरुलाई निर्देशन समेत दिएको छ ।