प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका सचिव साटफेर – Nepal Press

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका सचिव साटफेर

काठमाडौं । सरकारले गृह मन्त्रालयमा सचिव हेरफेर गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय मङ्गलवारको बैठकले गरेको हो ।

भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्दै आएका थिए ।

गृह सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।

भट्टराई भोलिबाट गृहमा हाजिर हुनेछन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएका बेला सचिव फेरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई सहसचिवबाट सचिवमा बढुवा गरेको थियो । बढुवा भएको १० दिनपछि असार १६ गते सिंहले कोशी प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।

जिम्मेवारी सम्हालेको २ महिना पुग्ने बित्तिकै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कोशी प्रदेश प्रमुख सचिवको पद रिक्त राखेर सिंहलाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिएको थिए ।

जतिबेला गृहमन्त्रीको जिम्मेवारीमा काँग्रेसकै नेता बालकृष्ण खाण थिए । पछिल्लो समय सबैभन्दा थोरै समय प्रदेशमा बस्ने सचिव सिंह नै हुन् ।

सिंह २०७९ असार १६ गतेदेखि २०७९ भदौ २९ गतेसम्म मात्रै कोशी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा बसेका थिए ।

सिंहभन्दा अघि प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालेका अर्थ मन्त्रालयका राजस्व सचिव डा।रामप्रसाद घिमिरेले भने २०७८ साउन ३२ गतेदेखि २०७९ असार १४ गतेसम्म करिब एक वर्ष जिम्मेवारी सम्हालेका थिए ।

उनी भन्दा अघि नै प्रदेश प्रमुखको सचिवको जिम्मेवारीमा रहेकाहरू अहिले पनि प्रदेश प्रमुख सचिवकै जिम्मेवारीमा रहेका छन् ।

२०७८ कात्तिकदेखि गण्डकी प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालिरहेका रविलाल पन्थ डेढ वर्षदेखि प्रमुख सचिवकै जिम्मेवारीमा रहेका छन् ।

एक वर्ष अघि २०७८ फागुन १२ गतेदेखि बागमती प्रदेश सचिवको जिम्मेवारी सम्हालेका मुकुन्दप्रसाद निरौला पनि एक वर्ष भन्दा बढी समयदेखि सोही जिम्मेवारी सम्हालिरहेका छन् ।

उनीहरू २ जना भन्दा पछि नै सचिवमा बढुवा भएका विनोदप्रकाश सिंह भने कोशी प्रदेशबाट गृह सचिवमा सरुवा भएर पनि ८ महिना बिताइसकेका छन् । सिंह २०७९ असार ६ गते सहसचिवबाट सचिवमा बढुवा भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर