रोल्पाका तीन स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरे – Nepal Press

रोल्पाका तीन स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरे

रोल्पा । रोल्पाका तीन स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन् । जिल्लाका रोल्पा नगरपालिका र रुन्टिगढी तथा माडी गाउँपालिकाले आफ्नै प्रहरी भर्ना गरेका हुन् ।

रोल्पा नपा जिल्ला सदरमुकाममा रहेको छ । रुन्टिगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन् ।

रुन्टिगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरी सुरक्षा र विकास गतिविधिमा परिचालन हँुदै आएको गाउँपालिकाका अध्यक्ष जनक पुनले जानकारी दिए ।

‘शान्ति सुरक्षालाई चुस्त राख्न र अन्य गतिविधिमा समेत नगर प्रहरी परिचालित हुन्छन्’, उनले भने ।

रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हबल्दार र नौ जना प्रहरी जवान रहेका छन् ।

ट्राफिक व्यवस्थापन, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा नगर प्रहरी परिचालन गरिने ती पालिकाले जनाएका छन् ।

जिल्लाको माडी गाउँपालिकाले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ । उसले दुई महिलासहित सातजना गाउँ प्रहरी भर्ना गरेको हो । गाउँ प्रहरीमा एक जना प्रहरी सहायक निरीक्षक र ६ प्रहरी जवान कार्यरत छन् ।

नगर प्रहरीलाई सलामी, पिटी परेड, भीड नियन्त्रण, रेस्क्यू, विपद् व्यवस्थान तथा उद्धार र सामान्य हतियार सञ्चालनसम्बन्धी एक महिनाको तालिम सञ्चालन गरिएको थियो । प्रहरीलाई कार्यालय सञ्चालन, चेन अफ कमाण्डलगायतका तालिम दिइएको छ ।

राजस्व सङ्कलन, न्यायिक समितिलाई सहयोग, सरसफाइ, पर्यटन गाइड र कार्यालय सुरक्षाको लागि उनीहरुलाई परिचालन गरिने स्थानीय तहको भनाइ छ । नगर प्रहरीलाई सञ्चार सेट, खुकुरी र लठ्ठीको सहायताले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । प्रहरीको खर्च व्यवस्थापन आन्तरिक स्रोतबाट हुँदै आएको जनाइएको छ । जिल्लामा एक नगरपालिकासहित दश स्थानीय तह छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *