प्रशारण ऐन उल्लंघन गर्दै नेपाली टिभी च्यानलमा भारतीय सिरियल – Nepal Press

प्रशारण ऐन उल्लंघन गर्दै नेपाली टिभी च्यानलमा भारतीय सिरियल

कर्मचारी संयन्त्रसँगको अपवित्र सेटिङमा ‘मि टिभी’ले भित्र्यायो ‘पवित्र रिस्ता’

काठमाडौं । कर्मचारी संयन्त्रसँगको साँठगाँठमा भारतीय टेलिसिरियल ‘पवित्र रिस्ता’ नेपाली टेलिभिजनमा जस्ताको तस्तै प्रशारण थालिएको छ । प्रशारणसम्बन्धी कानूनको मर्म र भावनाविपरित हिन्दी भाषाको सिरियललाई महँगो रकम तिरेर नेपालमा भित्र्याइएको हो ।

हाल नेपालमा रेडियो र टेलिभिजन प्रसारणलाई नियमन गर्ने कानूनका रूपमा राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ कार्यान्वयनमा छ । उक्त ऐन र नियमावलीमा रहेका स–साना कानूनी छिद्रको आडमा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागले गलत कार्यलाई अनुमति दिएका छन् । यस्तो अभ्यासले यसै पनि भारतीय टेलिभिजन र ओटीटीको थिचोमिचोमा परेको स्वदेशी टेलिभिजन उद्योग थप धराशायी बन्ने चिन्ता व्यवसायीहरूको छ ।

विभाग र मन्त्रालयका कर्मचारीसँगको सेटिङमा हिन्दी सिरियल ‘पवित्र रिस्ता’को फ्रेन्चाइज अधिकार नेपालको रोम ब्रोडकास्टिङ नेटवर्क प्रालिले लिएको हो । उक्त कम्पनीद्वारा सञ्चालन गरिएको ‘मि टिभी’ ले वैशाखबाटै सो सिरियल प्रशारण सुरु गरिसकेको छ । ‘एसिया टुडे सिंगापुर’ नामक कम्पनीसँग सम्झौता गरेर रोमले प्रशारण अधिकार खरिद गरेको देखिन्छ । जबकि एसिया टुडे कुनै प्रशारण संस्था नै होइन ।

‘पवित्र रिस्ता’ चर्चित भारतीय निर्माता एकता कपुर र शोभा कपुरले निर्माण गरेको सिरियल हो, जुन ‘जी टिभी’बाट प्रशारण हुँदै आएको छ ।

‘एसिया टुडे सिंगापुर’ चाहिँ जिटिभीले नै खडा गरेको कम्पनी हो । केही देशहरूले भारतीय टिभी च्यानललाई प्रतिबन्ध लगाएको हुँदा यो कम्पनीमार्फत चोर बाटोबाट ती देशमा सामग्री विक्री–वितरण गर्ने गरिएको छ । रोमसँग पनि सोही छद्म भेषी कम्पनीले सम्झौता गरेको हो ।

‘मि टिभी’ का सञ्चालक रोशन पौडेलले ६ वर्षका लागि एसिया टुडेसँग सम्झौता गरिएको जानकारी दिए । । तर, कति रकममा सो सिरियल खरिद गरिएको हो भन्ने खुलाउन चाहेनन् ।

‘मोटो रकममा खरिद गरेका हौँ, अहिले नियमित प्रशारण हुन थालिसकेको छ,’ उनले भने ।

मिटिभीको यो प्रशारण सफल भएमा यसले नेपालबाट ठूलो धनराशी विदेशिने बाटो खुल्ने छ । भविष्यमा अरू टेलिभिजनले पनि भटाभट भारतीय सिरियलहरू खरिद गरेर बजाउन सक्नेछन् ।

‘मि टिभी’ले पवित्र रिस्तालाई नेपालीमा डविङ गरी प्रशारण गरेको हो । यस्तो कार्य नेपाली राष्ट्रियताको दृष्टिले समेत आपत्तिजनक देखिन्छ । प्रसारण ऐन, नियममा राष्ट्रिय हितमा प्रतिकुल प्रभाव नपर्ने गरी विदेशी प्रसारण संस्था वा सञ्चार माध्यमहरूलाई मात्र कार्यक्रम प्रसारणको लागि समय उपलब्ध गराउन सकिने उल्लेख छ ।

यसै पनि भारतको भाषिक र सांस्कृतिक अतिक्रमणमा परिरहेको देशमा यसरी भारतीय टिभी कार्यक्रमको खुल्ला आयात गर्नु निकै जोखिमपूर्ण हुने विज्ञहरू बताउँछन् ।

त्यसो त अहिले पनि नेपालीहरूले भारतीय टिभी कार्यक्रमहरू हेरिरहेकै छन् । पवित्र रिस्ता प्रशारण गर्ने जिटीभीले नेपालमा डाउनलिंक अनुमति लिएको छ र क्लीन फिडमा प्रशारण हुन्छ । तर, अब नेपाली टेलिभिजनमा प्रशारण हुन थालेपछि नेपालमा जिटिभीबाट यो कार्यक्रम आउँदैन । नेपालीहरूलाई स्वदेशी टेलिभिजनमा नै हिन्दी भाषाका सिरियलमा बानी पार्न खोजिएको छ ।

स्वदेशी टेलिभिजनहरू यसबाट मारमा पर्ने छन् । महँगो बजेटमा बनेका विदेशी कार्यक्रमहरू सिधै प्रशारण गर्न पाएपछि स्वदेशमा कार्यक्रम उत्पादन गर्नेहरूले तिनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहँदैन । साथै, विज्ञापनदाताको आकर्षण पनि महँगा विदेशी सिरियलहरूमै केन्द्रित हुने निश्चित छ ।

अहिले नेपालमा थुप्रै स्वदेशी टेलिभिजनहरू प्रसारणमा रहेका छन् । जसमध्ये स्याटेलाइटका माध्यमबाट टेलिभिजन प्रसारण गर्न अनुमति पत्र प्राप्त गर्ने संस्थाहरूको संख्या करिब ५ दर्जन जति रहेको सूचना तथा प्रशारण विभागका अधिकारी बताउँछन् । टेलिभिजन च्यानलहरूले शिक्षाप्रद, मनोरञ्जनात्मक, सूचनामूलक तथा समाचारमूलक कार्यक्रमहरू प्रसारण गर्दै आइरहेका छन् । यस्ता कार्यक्रमहरू उत्पादन गर्दा ठूलो खर्च लाग्ने र त्यस्तो खर्च कार्यक्रम उत्पादक संस्थाले विभिन्न विज्ञापनमार्फत उठाउने गरेका छन् ।

अहिले नेपालमा एकातिर विज्ञापन बजारले धान्नै नसक्ने गरी प्रसारण संस्थाहरू स्थापना भएका छन् भने अर्कातिर गैरकानूनीरुपमा युट्यूव, फेसबुक, टिकटक आदि प्लेटफर्महरुले नेपाली विज्ञापन बजारबाट अरबौं रकम विदेश लगिरहेका छन् । यस्तो प्रतिकुल अवस्थामा पनि नेपाली प्रसारण संस्थाहरूले आफैले कार्यक्रम उत्पादन गरी उपभोक्तासमक्ष प्रसारण गरिरहेका छन् ।

यस्तो अवस्थामा विदेशी टेलिसिरियल ‘पवित्र रिस्ता’ लाई गैरकानूनीरुपमा नेपाली टेलिभिजनबाट प्रसारण गरी तोकिएको ३० मिनेटको स्लटमा २२ मिनेट टेलिसिरियल र बाँकी ८ मिनेट विज्ञापन (विदेशी) समेत प्रसारण गर्ने गरी ठूलै सेटिङ गरिएको छ । यसबाट अन्य नेपाली टेलिभिजन संस्थाहरूले प्रसारण गर्ने कार्यक्रमहरूमा विज्ञापन झन् झन् खुम्चिँदै जाने निश्चित छ ।

यसैगरी आउँदा दिनहरूमा समेत अन्य टेलिसिरियल नेपाली बजारमा चोरबाटो समातेर आउने र नेपाली कार्यक्रम उत्पादकहरूलाई थप निरुत्साहित गरी अन्त्यमा धराशायी बनाउने तथा सदाका लागि बन्द गराउने चलखेल गरिएको स्वतः स्पष्ट भएको देखिन्छ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ भारतीय सिरियल नेपाली टिभीमा प्रशारण हुन थालेको बारे जानकार रहेको बताउँछन् ।

उनले भने, ‘यसलाई बोर्डले नोटिसमा लिएको छ र यस्तो कार्य रोक्नका निम्ति नियमावलीमा आवश्यक संशोधन गर्न सूचना विभागलाई
हाल प्रचलनमा रहेको राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा १३ (विदेशी प्रसारण संस्था वा सञ्चार माध्यमलाई प्रसारण समय उपलब्ध गराउन सकिने) मा ‘विदेशी प्रसारण संस्था वा सञ्चार माध्यमहरूले प्रसारण संस्थाबाट कुनै कार्यक्रम प्रसारण गराउन चाहेमा राष्ट्रिय हितमा प्रतिकुल प्रभाव नपर्ने गरी तोकिएको मापदण्डको अधीनमा शिक्षाप्रद, मनोरञ्जनात्मक तथा समाचारमूलक कार्यक्रम प्रसारण गर्न समय उपलब्ध गराउन सकिने’ उल्लेख छ । यसको अर्थ विदेशी प्रसारण संस्था वा सञ्चार माध्यमहरूलाई मात्र कार्यक्रम प्रसारण गर्न समय उपलब्ध गराउन सकिने भन्ने हो । विदेशी टिभी कार्यक्रम आयात गर्न यसले अनुमति दिँदैन ।

त्यस्तै राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम १२ (प्रसारण समय उपलब्ध गराउन सकिने) मा ‘ऐनको दफा १३ बमोजिमको कुनै कार्यक्रम प्रसारण गर्न चाहने विदेशी प्रसारण संस्था वा सञ्चार माध्यमलाई नियम ९ को अधीनमा रही कार्यक्रम प्रशारण गर्ने समय उपलब्ध गराउन सकिने’ उल्लेख छ ।

यसअनुसार पनि विदेशी प्रशारण संस्था वा सञ्चार माध्यमहरूलाई मात्र कार्यक्रम प्रसारण गर्न समय उपलब्ध गराउन सकिने स्पष्ट व्यवस्था रहेको छ । विदेशी प्रसारण संस्था वा सञ्चार माध्यमहरू बाहेक अन्य विदेशी संस्थालाई नेपाली प्रसारण संस्थाले कार्यक्रम प्रसारण गर्न समय उपलब्ध गराउन कानूनले नै रोक लगाएको देखिन्छ ।

नियमविपरीतको प्रावधान कसरी राखियो ?

हाल प्रचलनमा रहेको रहेको राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ विपरीत हुने गरी मिति २०७८÷११÷१९ मा गरिएको राष्ट्रिय प्रसारण नियमावली, २०५२ को ११ औँ संशोधनमा एउटा बुँदा थपियो । नियम ५ग (विदेशी कार्यक्रम वा विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) को लागि स्वीकृति लिनुपर्ने) मा ‘कसैले नेपाल भित्रको अनुमतिप्राप्त टेलिभिजनबाट कुनै विदेशी कार्यक्रम प्रसारण गर्न वा विदेशी कार्यक्रमको प्रसारण अधिकार लिई नेपालभित्र प्रसारण गर्न चाहेमा मन्त्रालयबाट स्वीकृति लिनु पर्ने’ भन्ने उल्लेख गरिएको छ ।

यो बुँदामा राखिएको प्रावधानले सिधै राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा १३ को उल्लङ्घन गरेको देखिन्छ । यो बुँदा राख्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागसँग ठूलो सेटिङ गरिएको कुरा बिस्तारै बाहिर आउँदै छ । लाखौँ डलर भुक्तानी पठाउने गरी रोम ब्रोडकास्टीङ्ग नेटवर्क प्रालीले गरेको सम्झौता र उक्त सम्झौताअनुसार भुक्तानी गरिएको विदेशी मुद्रा (अमेरिकी डलर) दुवै गैरकानूनी भएको विज्ञहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर