आज संवैधानिक परिषद्को बैठक बस्दै


काठमाडौं। आज संवैधानिक परिषद्को बैठक बस्दै छ । प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजे बस्नेछ ।
उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरूप आजका लागि बैठक बोलाइएको हो । उनका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेशनका अन्तिम समयमा संवैधानिक परिषद् सम्बन्धी (संशोधन) विधेयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो ।
संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकारसहित बुँदा थप गरेर विधेयक ल्याइए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।
प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसूचीमा समावेश गरिसकेको सो विधेयक अन्तिममा फिर्ता लिइएको थियो । एमालेले संसदीय सुनवाइको पूर्णता पछि मात्रै सो विधेयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ ।