कोशी प्रदेशमा असार १ गते अघि नै बजेट ल्याउने तयारी


विराटनगर । नेपाली कांग्रेसले जसरी पनि बजेट ल्याउनु भन्दा अगाडि कोशी प्रदेश सरकार परिवर्तनको गृहकार्य गरेपछि एमाले नेतृत्वको सरकारले असार १ गते अगावै बजेट ल्याउने तयारी गरेको छ ।
नेपाली कांग्रेसले माओवादीलाई हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन दवाव दिएपछि कार्की नेतृत्वको सरकारले असार १ गते अगावै बजेट नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो ।
कार्की नेतृत्वको सरकारले बजेट आफै ल्याउने तयारी गरेको हो । प्रदेशको सत्तारुढ दल एमाले संसदीय दलको बुधबार विराटनगरमा बसेको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले सांसदहरुलाई ‘यसपटक असार १ अघि नै प्रदेशको बजेट ल्याइने’ जानकारी दिएका थिए ।
जेठ १५ मा संघीय सरकारले र असार १ मा प्रदेश सरकारहरुले बजेट ल्याउने अभ्यास छ ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यसपटक असार १ भन्दा अगाडि नै बजेट ल्याउने तयारी भएको भएको बताए ।
उनले जेठ १५ मा सङघिय सरकारले कस्तो बजेट ल्याँउछ त्यसैको आधारमा प्रदेशले बजेट ल्याउने छ उनले भने सङ्घिय सरकारको बजेट आएपछि असार १ सम्मै कुर्नु पर्छ भन्ने के छ ?
कोशी प्रदेशको बजेट कस्तो बनाउने भनेर एमाले संसदीय दलका उप नेता राम रानामगरेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलले आगामी बजेट कस्तो बनाउने भन्नेबारे अध्ययन गरेर सरकारलाई सैद्धान्तिक सुझाव दिनेछ ।
यस्तै, सरकारमा रहेका अन्य दलहरुसँग बजेटबारे छलफल गर्न उपनेता रानाकै नेतृत्वमा तीन सदस्यीय अर्को कार्यदल पनि गठन गरेको छ ।
सो कार्यदलमा प्रमुख सचेतक रेवतीरमण भण्डारी र सांसद चिन्तन पाठक (चिन्तन) सदस्य रहेका छन् । प्रदेश सरकारमा एमाले, माओवादी राप्रपा र जसपाको सरकार छ ।