दुई दिनअघि आइजीपीसँगै घुमेका पत्रकार भण्डारी फर्किँदा विमानस्थलबाटै पक्राउ – Nepal Press

दुई दिनअघि आइजीपीसँगै घुमेका पत्रकार भण्डारी फर्किँदा विमानस्थलबाटै पक्राउ

काठमाडौं । वैशाख २१ गते नेपाल प्रहरीका आइजीपी वसन्त कुँवरसँग गुल्मीको होटल पौवामा सँगै बसेका पत्रकार मदनबाबु भण्डारी फर्केर काठमाडौं पुग्दा विमानस्थलबाटै पक्राउ परेका छन् ।

गुल्मी इस्मा गाउँपालिका स्थायी घर भएका भण्डारीले सुरक्षा न्युज डट कम सञ्चालन गर्दै आएका छन् ।

बुटवलको इलाका प्रहरी कार्यालयको भवन उद्घाटन गरेर सँगै गुल्मी पुगेका आइजीपी कुँवरसँग उनी होटल पौवामा बसेको स्रोतले जनाएको छ ।

सरकारी कागजात किर्ते गरेको आरोपमा भण्डारी पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका भण्डारी त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।

भण्डारीको बारेमा सरकारी कागजात किर्तेको उजुरी परेको र सोही क्रममा अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए ।

प्रहरीका उच्च पदस्थ अधिकृतसँग हेलमेल भएका भण्डारी तल्लो तहका प्रहरी अधिकृतसँग रवाफ देखाउने गरेको प्रहरी अधिकृतको भनाइ छ ।

आइजीपी वसन्त कुँवरसँग बुटवलबाट गुल्मी गएका थिए भण्डारी । २२ गते कुँवर अर्घाखाँची हुँदै काठमाडौँतिर लागे भने भण्डारी पोखराबाट काठमाडौँ फर्किने क्रममा आज विमानस्थलबाटै पक्राउ परेका हुन् ।

भण्डारीले यसअघि नेपाल पुलिस डटकम नामक अनलाइन चलाएको बखत तत्कालीन आइजीपी ठाकुर ज्ञवालीले प्रहरीको नाममा गलत सन्देश जाने भन्दै इमेल गरेर बन्द गर्न लगाएका थिए । उनले अहिले पनि सुरक्षा नेटवर्क नामक कम्पनी चलाएका छन् ।

उनी यसअघि बुटवलका तत्कालीन डिएसपी राजकुमार बैदवारले ठगीकाण्डमा मुद्दा चलाएर कारागार बसेर निस्केका थिए ।

बाँकेको कोहलपुरमा पनि उनी ठगी मुद्दामा हिरासत बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर