प्रमाण नष्ट गर्न सचिव पाण्डेले गरेका थिए मोबाइल ‘फर्म्याट’


काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको हाई प्रोफाइल ठगीमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ ।
प्रहरी अधिकारीका अनुसार पाण्डेलाई पक्राउ गर्दा उनीसँग भएको मोबाइल पनि नियन्त्रणमा लिइएको थियो । ‘तर, उनले सबै डाटा हटाइसकेका रहेछन् । हामीले फरेन्सिकमा पठाएका छौं’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् ।
प्रहरीले दुई दिनअघि पाण्डेलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार यसअघि पक्राउ परेका केशव दुलाल र पाण्डेबीच निकट सम्बन्ध देखिएको छ । पाण्डे र दुलालबीच पारिवारिक सदस्यसरह कुराकानी भएको देखिन्छ ।
‘पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरे पनि दुलालबाट बरामद भएको मोबाइलबाट उनीसँग भएका सबै कुराकानी देखिन्छ । घटनामा पाण्डेको संलग्नता पुष्टि गर्ने धेरै तथ्यहरु त्यहाँ छन्’, ती अनुसन्धान अधिकारी भन्छन् ।
दुलाल पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका पीए हुन् । अनुसन्धान अधिकारीका अनुसार पाण्डे सचिव भएर गृह मन्त्रालयमा आएपछि गिरोहले उनलाई सम्पर्क सूत्रका रुपमा प्रयोग गरेको थियो ।
यो प्रकरणमा हालसम्म आठ जना पक्राउ परेका छन् । तीमध्ये तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि छन् ।
प्रतिनिधिसभा सदस्य टोपबहादुरको खोजी भइरहेको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
यसअघि पक्राउ परेका सानुराम भन्डारी, दुलाललगायतले आफूहरु बीचमा बसेर काम गरेको र माथिका मान्छेले पैसा लिएर काम नगरी धोका दिएको अनुसन्धानका क्रममा बताएको बुझिएको छ ।
‘यो घटनामा जो जो संलग्न छन्, उनीहरु सबै नतानिएको अवस्थामा अनुसन्धान अधिकारीलाई अप्ठेरो पर्न सक्ने अवस्था छ’, प्रहरी प्रधान कार्यालयको एक उच्च अधिकारीले भने ।
प्रहरीका अनुसार खोजीमा रहेका ईन्द्रजीतका छोरा एक महिनादेखि नेपालमा छैनन् । यो घटनामा जोडिएका तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक त्यसको केही दिनदेखि नेपालमा नरहेको अनुसन्धान अधिकारी बताउँछन् । प्रतीकले आफूले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।
मुख्य योजनाकार भण्डारी र दुलाल !
प्रहरीले यो घटनाको हालसम्मको अनुसन्धानमा सानु भण्डारी र केशव दुलाल नै मुख्य योजनाकार रहेको निष्कर्ष निकालेको छ ।
पीडित खोज्न लगाउनेदेखि माथिसम्म मिलाउने काम यी दुई जनाले गरेको अनुसन्धान अधिकारी बताउँछन् । स्रोतका अनुसार भण्डारी र टोपबहादुर रायमाझीबीच पुरानै चिनजान हो । घरजग्गा व्यवसायमा संलग्न भण्डारीले प्रारम्भिक रुपमा टोपबहादुरमार्फत नै गृह मन्त्रालयसम्म पहुँच बनाएको अधिकारीहरु बताउँछन् ।
तेस्रो मुलुक पुनःस्थापना गर्न बाँकी रहेका भुटानी शरणार्थीबारे अध्ययन गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदनमा नेपाली नागरिकलाई पनि भुटानी शरणार्थी बनाएर समावेश गरिएको बताइएको छ । तर, पैसा बुझाएर त्यसरी नाम समावेश गर्न सफल भएकाहरु जान नपाएपछि ‘ठगिएँ’ भन्दै प्रहरीकहाँ पुगेका हुन् ।
पीडितले आफूहरुले प्रतिव्यक्ति २० देखि ५० लाख रुपैयाँसम्म बुझाएको दाबी गरिरहेका छन् ।