संखुवासभामा हेलिकप्टर दुर्घटना, प्रहरी घटनास्थलमा खटिए (भिडिओ)


काठमाडौं । संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ । अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलि दुर्घटनामा परेको बताइएको छ । हेलिकप्टर भोटखोला गाउँपालिका-४ सिब्रुङमा दुर्घटना भएको गाउँपालिका उपाध्यक्ष सहना लामाले नेपाल प्रेसलाई जानकारी दिइन् ।
‘हामी योजना अनुगमनको क्रममा थियौं । वारीबाट रातो हेलि गुडुङगुडुङ आवाज गर्दै झरेको देख्यौं । फोनको टावर राम्रो छैन । थप बुझ्ने प्रयास भइरहेको छ’, उनले भनिन् ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार हेलिकप्टर दुर्घटनामा परेको खबर प्रहरी-प्रशासनलाई प्राप्त भएको छ । उनले त्यसतर्फ प्रहरी परिचालन गरिएको जानकारी दिए ।
‘स्थानीयले हामीलाई खबर गरेका छन् । प्रहरी त्यसतर्फ पठाएका छौं । विस्तृत विवरण केहीबेरमा आउला ।’
उक्त क्षेत्र अत्यन्तै विकट भएको र मोबाइल नेटवर्क पनि राम्रो नभएकाले विस्तृत विवरण आउन बाँकी छ ।
तस्बिर स्रोत : वाङछेदर लामा, अध्यक्ष भोटखोला गाउँपालिका