विमानस्थलमा चरा धपाउन छुट्टै जनशक्ति- सेनाका ५ जना शिकारी २४ सै घण्टा हुन्छन् तैनाथ – Nepal Press

विमानस्थलमा चरा धपाउन छुट्टै जनशक्ति- सेनाका ५ जना शिकारी २४ सै घण्टा हुन्छन् तैनाथ

काठमाडौं । नेपालमा जहाज दुर्घटना हुने विभिन्न कारणमध्ये एउटा हो- चरासँग ठोक्किनु । उडिरहेको जहाजमा चरालगायत कुनै पनि वस्तु ठोक्किँदा त्यसले गम्भीर दुर्घटना निम्त्याउन सक्छ ।

केही दिनअघि फ्लाई दुवईको जहाजमा उड्दाउड्दै समस्या देखियो । तीनपटक ड्याङ ड्याङ् आवाज आएर आगोको झिल्कासमेत फालेपछि दुर्घटनाको त्रास बढेको थियो । तर, जहाजलाई सुरक्षितरूपमा पाइलटले गन्तव्यसम्म पुर्‍याए । पछि एयर दुवईले अफिसियल ट्वीटमार्फत चरा ठोक्किएर (बर्ड स्ट्राइक) समस्या भएको दाबी गर्‍यो । जसलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले खण्डन गरेको छ । आफ्नो प्राविधिक कमजोरीलाई ढाकछोप गर्न फ्लाई दुवईले चराको बहाना गरेको थियो, किनकी उसलाई थाहा छ, नेपालको आकाशमा चराहरूले धेरै दु:ख दिने गर्छन् ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले २०२२ मा प्रकाशित गरेको एभिएसन सेफ्टी रिपोर्ट (उड्ययन सुरक्षा प्रतिवेदन) ले हवाई दुर्घटनाको प्रमुख पाँच कारण देखाएको छ । यसमध्ये चरा ठोक्किनु पनि एउटा हो । जनावर, चरा, अस्वाभाविक रनवे, प्रणालीमा खराबी र अलर्ट विच्छेद जस्ता प्रमुख पाँच कारण त्यसमा औंल्याइएको थियो ।

चराको समस्या हल गर्नका लागि नेपालले प्रयास नगरेको भने होइन । धेरैलाई थाहा नहुन सक्छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउनका निम्ति छुट्टै जनशक्तिको व्यवस्था गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।

नागरिक उड्यनन प्राधिकरणका निर्देशक जगन्नाथ निरौला करिब २१ वर्ष पहिलेदेखि नै चरा धपाउने शिकारी राख्न थालिएको बताउँछन् । निरौलाका अनुसार विमानस्थलमा खटिएका पहिला राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गतका कर्मचारीलाई शिकारीका रूपमा ल्याइन्थ्यो । अहिले यसको जिम्मा नेपाली सेनालाई दिइएको छ । दुई वर्षदेखि नेपाली सेनाले विमानस्थलको चरा धपाउने र खसाउने काम गर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार चरा धपाउन अहिले ५ जना शिकारी छन् । उनीहरूलाई रोटेसनमा २४ सै घण्टा खटाइँदै आएको छ । शिकारीका लागि टीआईएले नेपाली सेनासँग सम्झौता गरेको छ । सेनाले अफिसरभन्दा तल्लो तहका कर्मचारीलाई विमानस्थलमा खटाउने गर्छ । हरेक ६/६ महिनामा ५-५ जनाका दरले फरक-फरक व्यक्तिलाई टीआइई पठाउने गरिएको छ ।

सेनाले पठाएका शिकारीलाई विमानस्थलमा सामान्य ‘ओरियन्टेसन’ दिइन्छ । उनीहरूले आफ्नै हतियार लिएर आएका हुन्छन् । शिकारीलाई विमानस्थलभित्रै बस्ने र खाना-खाजाको व्यवस्था गरिएको हुन्छ ।

शिकारीहरुलाई चरा मार्न वा खसाउनका निम्ति भने प्रोत्साहन गरिँदैन । आकाशमा चरा देखिएमा बन्दूक पड्काएर भगाउने उनीहरूको उद्देश्य हुन्छ । तर, कहिलेकाहीँ गोली वा गुलेलीले लागेर चराहरू मरिरहेका हुन्छन् ।

नेपाली आकाशमा चरा ठोक्किएर दर्जनौँ दुर्घटना भइसकेका छन् । तर, प्राधिकरणले मानवीय तथा जहाजको क्षति भएका दुर्घटनाको मात्र सूची राख्ने गरेको छ ।

चरासँग ठोक्किए के हुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश आसपास ३९ प्रजातिका चरा घुम्ने विज्ञहरू बताउँछन् । यीमध्ये कालो चील धेरैपटक विमानसँग ठोक्किएको छ ।

एक अध्ययनअनुसार उडिरहेको विमानमा एक फिटको दूरीबाट तीन किलोको चील ठोक्किए एक हजार आठ सय किलोको घन बजारेजस्तो हुन्छ । जति नजिकबाट ठोकिन्छ त्यति धेरै असर पर्छ । विमानको कुन पार्टमा ठोक्किएको छ भन्नेले पनि फरक पर्छ । विमानमा प्वाल पर्ने र आगोसमेत लाग्न सक्ने भएकाले चरा ठोक्किएपछि सामान्यतया पाइलटले विमानलाई आपतकालीन अवतरण गराउने गर्छन् ।

नागरिक उड्डयन प्राधिकरणको सेफ्टी मेजर डिपार्टमेन्टका अनुसार त्रिभुवन विमानस्थलमा सबैभन्दा पहिले सन् १९९० मा चरा विमानसँग ठोक्किएको थियो । त्यसपछि यस्ता घटा दर्जनौंपटक भएको क्यान बताउँछ ।

एभिएसन सेफ्टी रिपोर्ट २०२२ का अनुसार दुर्घटनाको प्रमुख पाँच कारण र प्रमुख पाँच महिनामा दुर्घटना बढी हुने गरेको छ । जनवरी, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्वरलाई दुर्घटनाको जोखिम महिना मानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर