कोभिडको कहर र बैंकको पेलानमा परेर रित्तिएका एक व्यवसायी (भिडिओ) – Nepal Press

कोभिडको कहर र बैंकको पेलानमा परेर रित्तिएका एक व्यवसायी (भिडिओ)

विराटनगर । मोरङको पथरी बजारबाट बुद्ध चोक हुँदै ५ किलोमिटर दक्षिण झरेपछि पुगिन्छ टाइगर चोक । टाइगर चोकको पूर्वपट्टि खिया लागेको टिनको छानो भएको घरबाट बिहीबार बिहान खुट्टा खल्च्याङखल्च्याङ गर्दै बाटोमा निस्किए कृष्णप्रसाद नेपाल । साथैमा आइन् रुपादेवी भण्डारी नेपाल ।

कोभिड महामारी सुरु हुनु अगाडिसम्म नेपालको घरमा रनघन किराना पसल चलेको थियो । उनी गाउँमै होलसेल किराना पसल चलाउँथे । दैनिक १० हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो । घरको व्यापार हेर्थे छोरा लीलामणि र रुपा किराना स्टोरकी साहुनी अर्थात् नेपालकी श्रीमती रुपादेवी ।

दुई वटा सटर भएको उनको घरको एउटा सटरमा चिया प्याकेजिङ गर्ने श्री कृष्ण चिया प्याकेजिङ उद्योग थियो । उनी विभिन्न चिया उद्योगबाट धुलो चिया रङ्ग ल्याएर त्यहाँ प्याकेजिङ गर्थे । प्याकेजिङ गरेको चिया रङ्ग र किरानाका सामान पिकअप गाडीमा हालेर कृष्णप्रसाद गाउँगाउँ बेच्न जान्थे ।

गाडीमा सामान लिएर हिँडेका उनी बेलुका फर्कंदा २० देखि ३० हजार रुपैयाँको व्यापार गरेर फर्कन्थे । यो २०७८ सालको कुरा हो । बिहीबार हामी पुग्दा भने उनको न किराना पसल थियो न त चिया प्योकजिङ गर्ने उद्योग ।

औपचारिक चिनजान गरेपछि घरभित्र लगे कृष्णप्रसाद दम्पतीले । चिया प्याकेजिङ गर्ने सटरलाई नेपालले आजभोलि सुत्ने कोठा बनाएका छन् । त्यही कोठामा राखिएका दुई वटा खाटमा असरल्ल कागजपत्र थिए । प्रेसरले हानेपछि खुट्टा राम्ररी टेक्न र राम्ररी बोल्न नसक्ने कृष्णप्रसादले कागज देखाँउदै सुनाए आफ्नो कथा ।

बैंकको घनचक्कर

चिया प्याकेजिङ उद्योग सञ्चालन गर्न र किराना पसल चलाउन पथरीमै रहेको मनकामना सहकारीबाट उनले १५ लाख रुपैयाँ ऋण लिएका थिए । पसल र चिया प्याकेजिङ उद्योगको व्यापार राम्रो भएकाले उनलाई सहकारीको साँवा र व्याज बुझाउन समस्या थिएन । गाउँकै लालबहादुर बस्नेतको सल्लाहमा सामान बोक्ने गाडी किन्ने निर्णयमा पुगे कृष्णप्रसाद । बस्नेतले एनआईसी एसिया बैंकको ऋणमा गाडी लिएका थिए । सोही गाडी किन्न बैंकिङ प्रक्रियामा गए कृष्णप्रसाद ।

हेर्नुस् भिडिओ

सुरुमा गाडीको किस्ता बुझाउनुपर्ने एनआईसी एसिया बैंक पथरी शाखामै गए उनी । जग्गा धितो राख्ने भए ४५ लाख रुपैयाँ ऋण दिने बताए त्यो बेलाका एनआईसी एसिया बैंक पथरीका शाखा प्रमुखले ।

मनकामना सहकारीको ऋण चुक्ता गर्ने, गाडी पनि किन्ने र व्यापार बढाउने उद्देश्यले उनी ऋण लिने प्रक्रियामा लागे । कृष्णप्रसादले भने, ‘सुरुमा ऋण दिने सहमति जनाएको बैंकले ३ महिना धाउँदा पनि ऋण दिएन ।’

व्यापार बढाउन गाडी नकिनी नछाड्ने निर्णयमा पुगेका उनलाई ऋण लिन आउन भने तत्कालीन सृजना फाइनान्सका पथरी शाखा प्रमुख सीताराम दङ्गालले ।

त्यसपछि उनी एनआईसी एसिया छाडेर सृजना फाइनान्सतर्फ लागे कागजपत्र बोकेर । फाइनान्सले ऋण दिने भनेपछि उनले गाडी किने । गाडीमा व्यापार पनि सुरु गरे । पछि फाइनान्सले उनको जग्गा जाने बाटो छैन भन्यो । कृष्णप्रसादका अनुसार बाटोका लागि ३ कट्ठा मुखको जग्गा किन्नुपर्छ, ऋण दिन्छौं भने फाइनान्सका कर्मचारीले । उनले कर्मचारीको कुरा मानेर साँधको २ कट्ठा १७ धुर जग्गा १६ लाखमा किने ।

साविक राजगढ गाविस अहिलेको रतुवा माई नगरपालिकाको कित्ता नम्बर झ १४७ जग्गा किन्न मञ्जुर भएपछि उनलाई फाइनान्सले ३५ लाख रुपैयाँ ऋण दियो । उनले राजगढ वडा नम्बर ६ कित्ता नम्बर ५६ को १५ कट्ठा, कित्ता नम्बर २२४ को १० कट्ठा र नयाँ किनेको कित्ता नम्बर १४७ को २ कट्ठा १७ धुर जग्गा बंैकमा धितो राखे ।

‘३५ लाख रुपैयाँको कागजमा सही गरे पनि फाइनान्सले सेवा शुल्क र कर्जा सूचना भनेर ७१ हजार रुपैयाँ काट्यो । इञ्जिनियरलाई भनेर ५ हजार र अडिट भनेर ३३ हजार रुपैयाँ काट्यो’, कृष्णप्रसादले फाइनान्सका कर्मचारीले लेखेर दिएको कागज देखाउँदै भने ।

लिएको ऋणमध्ये १६ लाख रुपैयाँ २ कट्ठा १७ धुर जग्गाका साहु गणेश चौलागाईंलाई दिए । १४ लाख रुपैयाँ मनकामना सहकारीको ऋण तिर्न खर्च गरे । फाइनान्सका कर्मचारीले नै जग्गाको अगाडि रहेको पैनी पुर्नुपर्छ, जग्गाको अझै भ्यालुएसन बढ्छ भन्ने सुझाव दिए । कर्मचारीको सुझावपछि उनले ४ लाख रुपैयाँ खर्च गरेर पैनी पुरे । पछाडि पट्टै पैनी बनाए । फाइनान्सबाट पाएको ३४ लाख रुपैयाँ यसरी नै सकियो ।

न गाडी रह्यो न त पसल र उद्योग

फाइनान्सबाट ऋण लिएपछि कृष्णप्रसादका दुःखका दिन सुरु भए । ऋण लिएर पनि गाडीको किस्ता तिर्न सकेनन् । उनले ५ लाख रुपैयाँ यसअघि नै लालबहादुर बस्नेतलाई दिइसकेका थिए । उनी गाडीको २२ हजार मासिक किस्ता र सिर्जना फाइनान्सको ५० हजार किस्ता बुझाउने चक्करमा लागे । व्यापारले किस्ता धानिरहेका बेला उनले १८ महिना गाडीको किस्ता बुझाए ।

कोभिडको महामारी सुरु भएपछि उनले गाडीमा व्यापार गर्न पाएनन् । व्यापार नभएपछि किस्ता तिर्न उनले विभिन्न लघुवित्तबाट ऋण लिन थाले । त्यही बेला उनकी आमाको मृत्यु भयो । काजक्रियामा थप ऋण लाग्यो ।

कोभिड महामारीका बेला पनि जेनतेन किस्ता तिरिरहेका कृष्णप्रसादले २०७७ सालबाट भने गाडीको साँवा र व्याज तिर्न सकेनन् । गाउँगाउँ गएर व्यापार गर्ने उनको गाडी बैंकले खोस्यो । उनको अधोगति अझै बढ्यो ।

गाडी खोसिएपछि उनको व्यापार घट्दै गयो । सृजना फाइनान्स मर्ज भएर सिटिजन्स बैंक भयो । अनि उनलाई थप तनाव दिन थाल्यो । समयमा साँवा व्याज बुझाउन नसकेपछि उनले दिदीको नाममा रहेको जग्गा एनआईसी एसिया बैंकमा धितो राखे । १० लाख रुपैयाँ ऋण लिएर उनले सिटिजन बैंकको साँवा व्याज बुझाउन थाले ।

‘ऋण लिएर भए पनि साँवा व्याज बुझाइरहेको थिएँ । यसरी सकिन्न भनी जग्गा बेचेर ऋण चुक्ता गर्ने योजना बनाएँ तर बैंकले जग्गा नै बेच्न दिएन’, कृष्णप्रसादले दुःखेसो पोखे ।

जग्गाको बैना भयो, बैंकले बेच्न दिएन

सिटिजन बैकमा साँवा र व्याज बुझाइरहेका कृष्णप्रसादले जग्गा किन्ने ग्राहक खोजे । मोरङ उर्लाबारीका शान्तिराम दाहाल, रौतहटका विजय यादवसहितको शिव शक्ति रियल स्टेट एन्ड कम्पनीले २०७७ साल फागुन ६ गते जग्गा किन्न टोकन बैना गर्‍यो ।

राजगढ वडा नम्बर ६ को कित्ता नम्बर ५६ को १५ कट्ठा, कित्ता नम्बर २२४ को १० कट्ठा, गोविन्दपुर ४ झको कित्ता नम्बर १४७ को २ कट्ठा १७ धुर र राजगढकै कित्ता नम्बर २२३ को ५ कट्ठा जग्गा किन्न १ करोड ८ लाख ५० हजारमा बैना भएको कागजमा उल्लेख छ । फादनकुमार तामाङले लेखेको बैना कागजमा २०७८ साल वैशाख मसान्तसम्ममा सबै पैसा दिएर जग्गापास गर्ने उल्लेख छ । तर, बैंकले लिलामी प्रक्रियामा गइसकेको भन्दै जग्गा बेच्न र किन्न नदिएको शान्तिराम दाहालले बताए ।

उनले बैंकले असहयोग गरेपछि आफूहरू जग्गा किन्नबाट पछि हटेको सुनाए । ‘हामीले जग्गा नकिने पनि बैनास्वरूप दिएको ४० हजार रुपैयाँसमेत फिर्ता मागेका छैनौं’, दाहालले भने, ‘हामीले व्यापार गर्ने भनेर जग्गा किन्न लागेका थियौं । धेरै पटक बैंकमा पनि गयौं । तर, बैंकले लिलामी प्रक्रियामा गइसकेको भन्दै जग्गा किन्न दिएन ।’

उनका अनुसार त्यो बेला जग्गा लिलामी प्रक्रियामा गइसकेको थिएन । ‘हामीले बैंकको साँवा व्याज दिन्छौं । उभ्रिएको पैसा कृष्णप्रसाद नेपाललाई दिएर जग्गा पास गर्छौं भन्दा समेत बैंक मान्दै मानेन’, दाहालले थपे ।

शिव शक्ति रियल स्टेटले जग्गा नकिनेपछि कृष्णप्रसादको जग्गा किन्न इटहरीका खगेन्द्र कार्कीको समूह लाग्यो । उनीहरूले एक करोड दिने भनेर मौखिक वचन पनि दिए । जग्गा किनबेचको प्रक्रिया चलेपछि उनीहरू बैंकमा गए । बैंकले लिलामीको प्रक्रियामा गइसकेकाले नियमअनुसार हुने भनेपछि कार्कीको समूह पनि जग्गा किन्नबाट पछि हट्यो ।

२०७७ साल फागुनमा जग्गा बेच्ने बैना हुँदा बैंक लिलामी प्रक्रियामा नगएको प्रमाण बैंकले कृष्णप्रसादलाई पठाएको कागजले देखाउँछ । सिटिजन बैंकले २०७९ साल भदौ २३ गते मात्रै अन्नपूर्ण पोस्टमा लिलामी बिक्रीको १५ दिने सूचना प्रकाशित गरेको देखिन्छ । सूचना प्रकाशन भएकै दिन कृष्णप्रसादलाई बैंकले जानकारीसहितको पत्र पठाएको छ ।

बैंकले त्यसपछि २०७९ साल मङ्सिर १४ गते धितो रहेको चलअचल सम्पत्ति लिलामी बिक्रीको ७ दिने सूचना पुनः अन्नपूर्ण पोस्टमा प्रकाशित गरेको छ । सो सूचना प्रकाशित भएकै दिन पुनः कृष्णप्रसादलाई बैंकले कर्जा चुक्ता गर्नु नभए नियमानुसार हुने व्यहोराको पत्र पठाएको छ ।

जग्गा बिक्री गर्न बैंकले नदिएकै बेला कृष्णप्रसादका बुबा भीमप्रसादको मृत्यु भयो । काजक्रियाबाट निस्कनेबित्तिकै उनको ब्लड प्रेसर बढ्यो । प्रेसरले हानेपछि उनको एउटा खुट्टा नचल्ने भयो । बोलीमा समेत समस्या भयो । लामो समय थला परेपछि उनले साँवा व्याज बुझाउन सकेनन् ।

बैंकद्वारा लिलामीको सूचना दिन इन्कार

साँवा र व्याज बुझाउन नसकेपछि कृष्णप्रसादले २०७८ साल भदौ १८ गते बैंकलाई निवेदन लेखे । उनले कोभिड महामारी र बिरामीका कारण साँवा व्याज बुझाउन नसकेको भन्दै समय अवधि थप गर्न निवेदन दिएका थिए । उनले जग्गा बेचेर साँवा व्याज तिर्ने भन्दै बैंकमा निवेदन दिएका थिए । तर, बैंकले समयावधि थप गरेन । त्यसपछि सहजीकरणका लागि अनुरोध गर्दै कृष्णप्रसादले पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समिति गुहारे ।

न्यायिक समितिले बोलाउँदा बैंकका कर्मचारी आएनन् । तत्कालीन न्यायिक समितिका सदस्य भद्र विश्वकर्माले भने, ‘हामी न्यायिक समितिमा आउँदैनौं । कानूनी प्रक्रियामा जानु भन्दै बैंकले कर्मचारी पठाएन ।’

सिटिजन बैंकले जग्गा बिक्री गर्न नदिएपछि पैसाको जोहो गर्न नसकेका कृष्णप्रसादको जग्गा लिलामी भएको छ । तर, कसले र कति पैसामा जग्गा सकार्‍यो भनेर आफूहरूले जानकारी नपाएको कृष्णप्रसादका छोरा लीलामणिले बताए । उनी एक महिनाअघि बैंकको पथरी शाखामा जाँदा सुरुमा बैंकले सूचना दिन नमिल्ने भन्दै फर्काएको थियो ।

उनी पुनः बैंकमा जाँदा बुबालाई लिएर आउन भनेको जानकारी दिए । ‘बुबा हिँड्न सक्नुहुन्न, उहाँको निवेदन लिएर आउँछु भन्दा पनि बैंकले कसले कति पैसामा लिलामी भएको भनेर जानकारी दिएन’, लीलामणिले भने ।

बैंकका प्रदेश प्रमुख भन्छन्- सबै प्रक्रियामा भएको छ

सिटिजन बैंक कोशी प्रदेशका प्रमुख प्रदीप सेढाईंले प्रक्रियामा गएर कृष्णप्रसाद नेपालले ऋण लिँदा राखेको धितो जग्गा लिलामीमा गएको बताए । उनले पटक पटक सूचना निकाल्दा र आफू गएर भेट्दासमेत कृष्णप्रसादले साँवा व्याज चुक्ता गर्न नसकेको बताए ।

सेढाईंले जग्गा बिक्रीमा बैंकले कुनै अवरोध नगरेको दाबी गरे । ‘बैंकले एकै चोटि लिलामी गर्ने भन्ने हुँदैन । हामी प्रक्रियामा चलेका छौं । प्रक्रियाअनुसार लिलामी भएको हो’, उनले भने, ‘कसैको जग्गा हडप्ने बैंकको नीति छैन । कानूनअनुसार पटक पटक सूचना जारी गर्दा र व्यक्तिगत रूपमा गएर भन्दा समेत कृष्णप्रसाद नेपालले ऋणको साँवा र व्याज नबुझाएकाले बाध्य भएर लिलामी गरेका हौं ।’

उनले ऋणी आएर लिलामीको सूचना मागे सबै दिने बताए । ‘हाम्रो पनि प्रक्रिया छ नि ! प्रक्रियाभन्दा न म जान सक्छु न त अरू’, सेढाईंले भने ।


प्रतिक्रिया

One thought on “कोभिडको कहर र बैंकको पेलानमा परेर रित्तिएका एक व्यवसायी (भिडिओ)

  1. लिलाम भए पनि त उहाँ नेपालजीले नियमितरूपमा किस्ता बुझाउन बाँकी रहेको रकम बराबरको जमिन लिलाम भयो कि सबै ? कुरा राम्रोसँग खुलेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर