५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति अमेरिकाबाट नेपाल फर्काइए – Nepal Press

५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति अमेरिकाबाट नेपाल फर्काइए

हलिउड निर्माता माइकल फिलिपले नेपाली महावाणिज्य दूत ऋषि ढकालमार्फत नेपाली दूतावासलाई हस्तान्तरण गरेका थिए प्राचीन मूर्ति

काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचिन मूर्तिहरू नेपाल फिर्ता भएका छन् । ५० वर्षभन्दा पहिले चोरी भएर अमेरिका पुर्‍याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता गरिएका हुन् ।

क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकीहरुले नेपालका ती ऐतिहासिक सम्पदा हस्तान्तरण गरेको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।

बुंगमतीको मछिन्द्र बहालमा रहेको ८औँ शताब्दीको बुद्धको ढुंगाले बनेको मूर्ति र पाटनको इटुम बहालमा रहेको ४२ इन्च अग्लो १० औं शताब्दीको नृत्यादेवीको काठको मूर्ति नेपालबाट चोरी भएका थिए ।
दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ती मूर्ति थुप्रै व्यक्ति हुँदै अन्तिममा पुरातात्विक सम्पादहरूको संकलन गर्ने व्यक्तिसम्म फिर्ता पाउन सकिएको जनाएको छ ।

नृत्यादेवी र बुद्धको दुवै मूर्ति सन् १९७० मा चोरी भएको उल्लेख गरिएको छ । ८ औँ शताब्दीको बुद्ध मूर्ति क्यालिफोर्नियाको हलिउड, बेभर्लीहिल निवासी हलिउड फिल्म निर्माता माइकल फिलिप्सले नेपाली महावाणिज्यदूत ऋषि ढकाललाई १८ दिन अघि अप्रिल १२ मा हस्तान्तरण गरेका थिए ।

दूतावासले निर्माता माइकल फिलिप्सलाई मूर्ति फिर्ता गरेकोमा धन्यवाद ज्ञापन गरेको छ । त्यसैगरी मूर्ति फिर्ताको लागि पहल गरेकोमा महावाणिज्यदूत ढकाललाई पनि नेपाली दूतावासले धन्यवाद दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *