जनकपुरधाममा स्थापना भयो मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय


जनकपुरधाम । मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना भएको छ ।
मधेसका जिल्लाहरूमा मिटरब्याज सम्बन्धी बढी पीडित भेटिएकाले जनकपुरधाममा आयोगको कार्यालय स्थापना गरिएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज जनकपुरधाम आएर जाँचबुझ आयोगको केन्द्रीय कार्यालयको उद्घाटन गरे ।
मिटरब्याज पीडित काठमाडौं पुगेर आन्दोलन गरेपछि ०७९ चैत्र २० मा सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की आयोगका अध्यक्ष छन् भने उत्तम बहादुर सुवेदी र गणेशबाबु अर्याल सदस्य छन् ।
सुवेदी नेपाल प्रहरीका पूर्व एआईजी र अर्याल पूर्व नायब महान्यायाधिवक्ता हुन् । उनीहरू अब जनकपुरधाममै स्थापना भएको केन्द्रीय कार्यालयमा बसेर मिटरब्याज पीडितहरूलाई न्याय दिने छन् ।