गण्डक नहर किनारमा भारतद्वारा गरिँदै आएको सफाइ स्टिमेट विपरीत भएको भन्दै आपत्ति – Nepal Press

गण्डक नहर किनारमा भारतद्वारा गरिँदै आएको सफाइ स्टिमेट विपरीत भएको भन्दै आपत्ति

रुपन्देही । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका अन्तर्गत गण्डक नहर किनारमा भारत बिहार सिँचाई विभागद्वारा गरिँदै आएको नहर र नाला सफाइ कार्य, स्टिमेट विपरीत भएको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन् ।

नवलपरासीको त्रिवेणीस्थित गण्डक बाँधबाट निकालिएको गण्डक मुख्य पश्चिमी नहरको सुस्ता गाउँपालिका २ को महलबारी पश्चिमबाट निकालिएको समानान्तर नाला सफाइ कार्यमा भारतीय ठेकेदार कम्पनीले व्यापक अनियमितता गरेको गण्डक नदी संघर्ष समितिका अध्यक्ष दूधनाथ गुप्ताले जानकारी दिए ।

पहाडी खोलाको पानी निकास र खेतीयोग्य भूमिमा हुने जल जमावको समस्या समाधान गर्न र मुख्य पश्चिमी नहरमा हुन सक्ने क्षति न्यूनीकरण गर्न बनाइएको समानान्तर नाला सफाइ कार्यमा भारतीय ठेकेदार पक्षले माटो सफाइ गर्ने कार्य अनियमितताको गुनासो पछि गण्डक नहर संघर्ष समितिले अनुगमन गरेको थियो ।

नालाको माटो नालाकै डिलमा थुपार्ने र स्टिमेट विपरीत नालाको डिल र गहिराइ ताछ्ने कार्य बढेपछि संघर्ष समितिको पदाधिकारीसहितको टोलीले निरीक्षण गरेको छ ।

भारतीय व्यवस्थापनमा रहेको गण्डक मुख्य पश्चिमी नहर डिभिजन कार्यालय वाल्मीकि नगरका प्राविधिकहरू ठेकेदार कम्पनी सङ्ग कमिसनको खेलमा अल्झिएको समितिका अध्यक्ष गुप्ताले आरोप लगाए ।

गण्डक योजना अन्तर्गत नेपाल भूमिमा भारतीय सिँचाई विभागद्वारा गरिने निर्माण र मर्मत कार्यमा गण्डक योजनामा नेपाल सरकारका प्रतिनिधिलाई अधिकृतको भूमिका पनि ठेकेदार कम्पनीकै अनुकूल रहेको अनुगमन समितिले बताएको छ ।

गण्डक योजना अन्तर्गत नेपाली भूमिमा भारतीय सिचाइ विभागद्वारा गरिने निर्माण कार्य स्टिमेट अनुसार नभए फेरि पनि थप दबाबमूलक कार्य गरिने संघर्ष समितिले जानकारी दिएको छ ।

गण्डक नहर आसपासका नाला लगायत अन्य संरचना स्टिमेट अनुसार नभए नेपाल भारतकै उच्च तहको निगरानी कार्यालयमा पत्राचार गरिने पनि संघर्ष समितिले निष्कर्ष निकालेको छ ।

२०६५ सालमा भारतीय गण्डक प्रशासनले गण्डक क्षेत्रमा गरेको अनियमितता विरुद्ध गण्डक पीडितहरूले ३१ दिन सम्म गण्डक नहरको पानी रोकेर कठोर आन्दोलन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर