सभामुख घिमिरेलाई चेम्बरको आग्रह- अख्तियारको क्षेत्राधिकार विस्तार रोक्नुस् – Nepal Press

सभामुख घिमिरेलाई चेम्बरको आग्रह- अख्तियारको क्षेत्राधिकार विस्तार रोक्नुस्

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले अख्तियारको क्षेत्राधिकार विस्तार गर्ने गरी प्रतिनिधिसभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकूल बनाउन सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्थाप्रति आपत्ति जनाएको हो ।

‘मुलुकको अर्थतन्त्र हाल जोखिममा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र निजी क्षेत्रलाई प्रतिकूल असर पर्ने कानूनी व्यवस्था नगर्न अनुरोध गर्दछौं’, भेटमा मल्लले भने ।

चेम्बरले निजी क्षेत्रलाई नियमन गर्ने छुट्टै नियामक निकायहरु भएकाले अख्तियारको क्षेत्राधिकारभित्र पार्दा व्यवसाय नै ठप्प पर्ने जनाएको छ ।

सभामुख घिमिरेले निजी क्षेत्रमैत्री कानून निर्माण गर्न आफूले प्रयत्न गर्ने बताए । ‘ऐन बनाउन मूलतः सरकार र राजनीतिक दलहरुकै भूमिका रहन्छ’, उनले भने, ‘तर, अभिभावकीय भूमिका निर्वाह गर्ने तपाईंहरुलाई विश्वास दिलाउँछु ।’

सभामुखले विषयगत समितिहरु गठन प्रक्रियामा रहेकाले समितिमार्फत आफ्ना सुझावहरु दिन कमर्श पदाधिकारीको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *