दाइजोको निहुंमा श्वेता झालाई आगो लगाइ हत्या प्रयासको आरोपमा श्रीमान पक्राउ


जनकपुरधाम । जनकपुरधाम २० देवरा रुपैठाकी २८ वर्षीया श्वेता झालाई आगो लगाएर हत्याको प्रयास गरेका उनकै श्रीमान राजिव झा पक्राउ परेका छन् ।
बैशाख १ गते दाइजोको निहुंमा श्वेतालाई श्रीमान राजिव, सासु–ससुरा र देवरले आगो लगाएर हत्याको प्रयास गरेका थिए । पीडितले दिएको उजुरी आधारमा धनुषा प्रहरीले उनका श्रीमान राजिवलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
धनुषाका प्रहरी प्रवक्ता एसपी विश्वराज खड्काले आगो लगाएर श्रीमतीको हत्याको प्रयास गरेको आरोपमा राजिवलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान तथा कारबाही अगाडी बढाएको जानकारी दिए ।
उनका अनुसार आरोपी श्वेताको सासुरा–सासु र देवर फरार छन् । उनीहरुको पनि खोजी जारी रहेको छ ।
भारतको दरभंगा माइत भएकी श्वेता र राजिवबीच १० वर्ष अगाडी सामाजिक परम्परा अनुसार विवाह भएको थियो । तर तीन तोला सुन दाइजो माग्दै श्वेतालाई श्रीमानलगायत परिवारले यातना दिदै आएको र वैशाख १ मा आगो लगाएर हत्याको प्रयास गरेको बताइएको छ ।
३५ प्रतिशत भाग जलेको अवस्थामा श्वेता अहिले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन् । घटनापछि उनले असुरक्षाका कारण एक छोरा र छोरीलाई माइत पठाएकी छन् ।
आगो लगाएपछि उनलाई घरबाट बाहिर निस्किन दिएको थिएन । माइतबाट बुवा आएपछि उनलाई उपचारका लागि दरभंगा लगियो र पछि प्रादेशिक अस्पताल ल्याउदा घटना बाहिरिएको थियो ।